Todays Date: २०८३ बैशाख १०

जितु र नीतिः ज्वाइँ साबका हट केक

Jitu Niti.1

यही असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाह फिल्मवृत्त र दर्शकका लागि ‘हट केक’ हुन् । फिल्ममा अनुबन्धित भएसँगै चर्चामा रहेका जितु र नीति फिल्मको प्रचारप्रसार सामाग्री पोस्टर, टिजर र ‘कसम बत्तीको’ गीत सार्वजनिक भएपछि अहिले सबैको नजर उनीहरुतिरै सोझिएको छ ।

फिल्ममा जितु र नीति अनुबन्धित भएपछि उनीहरुको जोडी कस्तो बन्ला भन्ने फिल्मवृत्तसँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । फिल्मको पोस्टर, टिजर र गीत ‘कसम बत्ती’को रिलिजले फिल्मप्रति फिल्मकर्मी र दर्शकको कौतुहलतालाई एक हदसम्म मेटाइसकेको छ ।

अभिनयमा झण्डै दुई दशक बिताइसकेका जितु र फिल्मवृत्तमा नयाँ अनुहारका रुपमा उदाएकी नीतिको क्यामेष्ट्रीलाई गीत ‘कसम बत्ती’ सार्वजनिक भएपछि यो जोडीलाई सबैले स्वीकारिसकेका छन् । सामाजिक सञ्जाल टिकटकमा यो गीतको चर्चा अहिले अत्याधिक छ । प्रेमभाव दर्शाउने यो गीतमा अहिले जुनसुकै उमेर समूहका मानिसले टिकटक बनाइरहेका छन् ।

फिल्म निर्माण टिमले प्रचारप्रसार सामाग्रीमा जितु र नीतिलाई बेहुला बेहुलीको गेटअपमा प्रस्तुत गर्दा पोस्टरले राम्रै चर्चा पाएको थियो । पोस्टरमा जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको र जितुको अगाडि नीति बेहुली रुपमा उभिएकी छिन् । यो पोस्टरले पनि फिल्मको कथावस्तु कस्तो होला भन्ने चासो र कौतुहलता फिल्मकर्मीसँगै दर्शकमा व्याप्त छ ।

सामान्यतयाः विवाहमा बेहुलीलाई डोलीमा चढाईन्छ । तर यो फिल्मको पोस्टर, टिजर र गीतमा भने बेहुलालाई डोलीमा चढाईएको छ ।

फिल्मका निर्देशक वसन्त निरौला नेपाली फिल्ममा देखिइरहने कथाभन्दा ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने बताउँछन् । ‘पोस्टर, टिजर र गीत रिलिज पछि फिल्मले राम्रो हाइप पाएको छ । प्रमुख कलाकार जितु नेपाल र नीति शाहको गेटअपले पनि फिल्मप्रति चासो बढाइदिएको छ’, वसन्त भन्छन्, ‘दुवै कलाकारले फिल्ममा चरित्र अनुसार न्याय दिनुभएको छ ।’

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।

रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा यो फिल्म निर्माण भएको हो । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरनेमेन्ट, एफडी कम्पनीले गर्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x