भदौ महिनासम्म औषत देखिएको नेपाली बक्स अफिस असोज र कात्तिकमा भने चम्किएको छ । दशैं र तिहार जस्ता चाडपर्वको फाइदा नेपाली फिल्मले भरपूर उठाएका छन् ।
दशैंमा मात्र नेपाली फिल्मले ५० करोड माथिको ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक भएको छ । दशैंमा रिलिज भएका ४ फिल्ममध्ये ‘१२ गाउँ’ले २३ करोड ५० लाखको ग्रस कलेक्शन गरेको दाबी वितरकको छ ।
यस्तै, अर्को फिल्म ‘छक्का पन्जा ५’ले २० करोडको ग्रस कलेक्शन गरेको दाबी वितरकले गरेका छन् । फूलपातीको दिनबाट रिलिजमा आएको अर्को फिल्म ‘ज्वाइँ साब’ले पनि साढे ३ करोड हारहारीको ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक भएको थियो । यसरी हेर्दा, फूलपातिबाट रिलिजमा आएका तीन फिल्मले ४७ करोडको व्यापार गरिसकेका छन् । ‘छक्का पन्जा ५ र १२ गाउँ’ अझै पनि हलमा रहेकाले यो आँकडा अझै बढ्ने देखिन्छ ।
घटस्थापनाबाट रिलिजमा आएको फिल्म ‘बेहुली फ्रेम मेघौली’ले दुई सातामा ३ करोडको हारहारीको ग्रस कलेक्शन गर्यो । यसपछि, फिल्मले शोज नपाएको भन्दै निर्माताले हलबाट फिल्म उतारे ।
दशैंमा रिलिजमा आएका ४ फिल्मको व्यापार ५० करोड ग्रस छ । यस्तै, तिहारमा रिलिजमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रस कलेक्शन पनि आक्रामक देखिएको छ ।
एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको यो फिल्मले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । फिल्मको लाइफ टाइम कलेक्शन १० करोड माथि नै हुने देखिन्छ ।
यसरी हेर्दा, चाडपर्वमा रिलिजमा आएका नेपाली फिल्मले ऐतिहासिक व्यापार गरेका छन् ।