गत बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले आक्रामक व्यापार जारी राखेको छ । यो फिल्मले पहिलो सातामा ८ करोड २५ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ ।
सुरुवाती ३ दिनमा ठीकठाक कमाई गरेको फिल्मले सोमबारबाट भने आक्रामक व्यापार गरिरहेको छ । आज फिल्मलाई देशभर ३ सय ८० शोज मिलेको छ । यो हालसम्म कुनै नेपाली फिल्मले पाएको सर्वाधिक शोज हो ।
यसअघि यो रेकर्ड घटस्थापना (असोज १७)मा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’को नाममा थियो, जसले प्रदर्शनको पहिलो दिन ३ सय ४० शो प्राप्त गरेको थियो ।
यो फिल्मले आज १० करोडको बक्स अफिस आँकडा पार गर्ने पक्का छ । आज फिल्मले २ करोड माथिको ग्रस कलेक्शन गर्ने प्रक्षेपण गरिएको छ । शुक्रबार र शनिबार यो व्यापार अझै आक्रामक हुने देखिन्छ ।
शनिबार फिल्मले देशभर ४ सय बढी शोज पाउने संभावना उच्च छ । फिल्मको शनिबारको बूकिङ हेर्दा यसले ३ करोड माथिको ग्रस कलेक्शन गर्ने देखिन्छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा तयार भएको फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।