Todays Date: २०८१ मंसिर २८

विपिन कार्कीले ‘तेल भिसा’मा डबल रोल गर्न डबल पारिश्रमिक लिएका हुन् ?

Tel Visa 2

‘भर्सटायल’ अभिनेता विपिन कार्की ‘महाजात्रा’ रिलिजको करिब ७ महिनापछि नयाँ फिल्म ‘तेल भिसा’मार्फत् पर्दामा देखिँदैछन् । आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म उनका लागि निकै विशेष छ । किनकि, यसमा उनी बाबु र छोराको गरी दोहोरो भूमिकामा देखिएका छन् । दुईवटा भूमिका भएकै कारण उनले पारिश्रमिक ४० लाख लिएको समेत चर्चा छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा विपिनलाई पारिश्रमिकको विषयमा पनि प्रश्न तेर्सियो । डबल रोल गर्न डबल पारिश्रमिक लिएको भन्ने कुरा उनले ठाडै अस्वीकार गरे । उनले भने, ‘दुईवटा चरित्र गर्न छुट्टाछुट्टै पारिश्रमिक लिएको चाहिँ होइन । दुईवटा चरित्र गर्ने कुरा म फिल्ममा अनुबन्धित भइसकेपछि भएको निर्णय हो ।’ दोहोरो चरित्र गर्दा दुईवटा फिल्म गरेजस्तो महसुस भएको उनको अनुभव छ ।

‘मलाई एउटा क्यारेक्टर गर्न नै एकदमै गाह्रो हुन्छ । दुईवटा क्यारेक्टरमा दुईटाजस्तो देखिन र त्यसमा विश्वास दिलाउनका लागि मिहिनेत त पर्छ नै । तर, फिल्ममा काम गर्ने निश्चित भएपछि कसरी गर्ने भनेर मैले सोच्न थालिसकेको थिएँ । तर, दोहोरो चरित्रले गर्दा दुईवटा फिल्म गरेजस्तो चाहिँ हुँदोरहेछ । त्यसमाथि फिल्ममा एउटा पार्ट अमेरिका अनि अर्को नेपालको छ । त्यसले गर्दा दुईवटा फिल्म गरेजस्तो, घाटा लागेजस्तो भयो,’ उनले हाँस्दै भने ।

फिल्मकी अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरे विपिन १ करोड पारिश्रमिकका लागि पनि योग्य रहेको दाबी गर्छिन् । भन्छिन्, ‘उहाँ अफस्क्रिन र अनस्क्रिन दुवैमा साह्रै सहज हुनुहुन्छ । हाम्रो अमेरिकाको सेड्युल ‘टफ’ थियो । उहाँले स्टारडमअनुसार व्यवहार गर्नुभएको भए हामीलाई गाह्रो हुन्थ्यो । उहाँ अभिनय र व्यवहारको हिसाबले ५० लाख मात्र होइन, एक करोड डिजर्भ गर्नुहुन्छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top