
फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’मा काम गरेपछि कलाकार विजय बरालको करिअर नै बदलियो । नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाई गर्ने यो फिल्मको मुख्य कलाकार भएपछि विजयको करिअर बदलियो । अहिले उनलाई लिएर फिल्ममा काम गर्न चाहने निर्माताको संख्या पनि बढेको छ ।
तर, कलाकार विजय बराल भने आफूलाई फिल्म नै अफर नआएपनि मतलब नभएको तर्क गर्छन् । मण्डला थिएटरमा मञ्चन हुन लागेको नाटक ‘हरि हजुरबा’को बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विजयले भने–‘म त जिरोबाट हिँडेको मानिस हो । फिल्म नै नआएपनि मलाई मतलब नै छैन । रेकर्ड ब्रेक गरिहालियो, अब नखेलेपनि के भयो र ? नाटक नै गर्दा पनि चलिहाल्छ । बाँच्न त गाह्रो छैन । तर, विभिन्न खालको आवश्यकताको कुरा रहेछ ।’
विजयले नाटकमा काम गर्नुको कारणबारे भने–‘अब म कमेडियन होइन भनेर देखाउनका लागि । कुनै पनि कुराले मानिस भावुक हुन्छ । रमाइलो गर्ने मान्छे पनि रुन्छ । पहिले पहिले विजय पर्दामा आउँदा हसाउँछ भन्ने हुन्थ्यो । अब, म कमेडियन मात्र होइन भनेर पनि देखाउन चाहन्छु ।’
कलाकार बरालले एउटा फिल्ममा काम गरेको २० लाख पारिश्रमिक मागेको चर्चा समेत छ । यो बिषयमा उनले भने–‘खै, मैले यो बिषयमा कही कतै बोलेको छैन । अब, फिल्मले नै यत्रो कमाएपछि विजयलाई दिनुपर्छ भन्ने भएको होला । तर, मैले जति फिल्ममा कुरा गरेको छु त्यसको स्क्रिप्ट पनि पढ्न पाएको छैन । ठिक्क लिने हो, धेरै किन माग्ने हो र ?’
बरालले आफ्नो असफलताको पर्खाई पनि नसकिएको तर्क गरे । उनले अगाडि भने–‘कुनै उचाइमा पुगेपछि त्यहाँ शित्तलता हुन्छ, जाडो पनि हुन्छ । करिअरमा आरोह अवरोह हुन्छ नै । एकै ठाउँमा बसिराख्छु भन्ने पनि होइन । तर, झरे पनि उकालो चढ्न सक्ने मान्छे म हुँ ।’