
यस वर्षको बैशाखदेखि कात्तिक महिनासम्म नेपाली फिल्म उद्योगका लागि उत्कृष्ट समय रह्यो। यो अवधिमा करिब एक दर्जन फिल्म व्यावसायिक रूपमा सफल भए भने व्यापार एक अर्ब रुपैयाँभन्दा माथि पुग्यो। नेपाली फिल्म इतिहासमा यति छोटो अवधिमा यस्तो व्यवसायिक उपलब्धि पहिलोपटक भएको हो। यसले नेपाली फिल्मको ‘स्वर्ण युग’ सुरु भएको विश्लेषणसमेत गराइएको छ।
तर, कात्तिकसम्म उत्साहपूर्ण देखिएको नेपाली फिल्मको व्यापार मंसिरदेखि सुस्ताएको छ। मंसिर महिनामा जम्मा दुई नेपाली फिल्म, ‘तेल भिसा’ र ‘अग्निदहन’ रिलिज भए। तर, दुवै फिल्मले अपेक्षित व्यापार गर्न सकेनन्। बरु मंसिर २० गते रिलिज भएको साउथ फिल्म ‘पुष्पा २’ले नेपालमा व्यापक प्रभाव पारेपछि अन्य नेपाली फिल्म निर्माण टोलीले मंसिरमा फिल्म रिलिज गर्न हिचकिचाए।
पुष ५ गते भने लामो समयपछि नयाँ नेपाली फिल्म ‘बमबहादुर’ हलमा लाग्यो। चिसो मौसमसँगै चिसिएको नेपाली फिल्म व्यापारलाई यसले तताउने अपेक्षा गरिएको थियो। तर, फिल्मले दर्शक तान्न नसक्दा अधिकांश हलले दुई दिनमै फिल्म उतारेका छन्।
फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा थिए। यस वर्षका लागि उनको यो पहिलो रिलिज फिल्म भए पनि, फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन। सौगातको स्टारडममाथि पनि प्रश्न उठ्न थालेको छ।
फिल्म रिलिजअघि सौगात मल्लको प्रचारमा न्यून उपस्थिति र फिल्मप्रतिको अपेक्षाको कमी देखिएको थियो। ‘बमबहादुर’को असफलताले सौगातको करिअरमा भने खासै असर गरेको देखिँदैन। कुशल अभिनय क्षमताका कारण उनीसँग अझै एक दर्जन फिल्मको प्रोजेक्ट छ, जसले उनलाई व्यस्त बनाइरहेको छ।
नेपाली फिल्म उद्योगका लागि आगामी महिनाहरूमा नयाँ फिल्महरूबाट पुनः उछाल आउने अपेक्षा गरिएको छ। ‘बमबहादुर’को असफलताले नेपाली फिल्म निर्माताहरूलाई गहिरो सोच्न बाध्य बनाएको छ, विशेषतः फिल्म प्रचार-प्रसार र कथावस्तुमा सुधारका लागि।