Todays Date: २०८३ बैशाख १०

सौगातका फिल्म निरन्तर फ्लप हुँदा पनि कामै काम

saugat malla

अभिनेता सौगात मल्ल अभिनित फिल्म ‘बमबहादुर’ गत शुक्रबारदेखि हलमा प्रदर्शनमा आएको थियो। तर, यो फिल्मले अपेक्षाकृत रुपमा दर्शकको साथ पाउन सकेन। प्रदर्शनको पहिलो दुई दिनमै दर्शकको कमीका कारण अधिकांश हलले आइतबारबाट शोज हटाएका छन्। अहिले केही थोरै हलमा मात्र यो फिल्मको शोज जारी रहेका छन्।

सौगात मल्लको लोकप्रियता र अभिनय कौशलका बाबजुद पनि ‘बमबहादुर’ दर्शक तान्न असफल रह्यो। फिल्म प्रचारप्रसारमा सौगातले खासै समय नदिएको र एक दिन मात्र समय छुट्याएको कारणले पनि यसले प्रभाव पार्न नसकेको अनुमान गरिएको छ।

सौगातका फिल्महरूको इतिहास हेर्दा, चर्चित टिमका फिल्मबाहेक उनका अधिकांश प्रोजेक्टहरू बक्स अफिसमा सफल हुन सकेका छैनन्। आठ महिना अघि रिलिज भएको उनको फिल्म ‘रेड सुटकेस’ पनि फ्लप भएको थियो। यद्यपि, फिल्म ‘अगस्त्यः च्याप्टर १’ बक्स अफिसमा असफल भए पनि सौगातको अभिनय र गेटअपको निकै प्रशंसा भएको थियो।

‘लुट’ र ‘कबड्डी’ जस्ता सुपरहिट फिल्महरूमा आफ्नो अभिनयमार्फत चर्चित बनेका सौगात मल्लले पछिल्ला केही फिल्ममा सफलता पाउन सकेका छैनन्। तर, असफलताका बाबजुद पनि उनको अभिनयको तारिफ हुने क्रम रोकिएको छैन।

सौगातको हातमा निरन्तर फिल्म पाइपलाइनमा रहेको छ। उनी एक फिल्मको छायांकन पूरा भए लगत्तै अर्को प्रोजेक्टमा संलग्न हुने गरेका छन्। बक्स अफिसमा असफलताका बावजूद पनि सौगात मल्ललाई बलियो अभिनयका लागि दर्शक र फिल्म निर्माता-निर्देशकले रुचाइरहेका छन्।

फिल्म ‘बमबहादुर’ को असफलताले नेपाली सिने बजारमा ठूला कलाकार मात्र पर्याप्त हुँदैन भन्ने तथ्यलाई पुनः पुष्टि गरेको छ। अब यो फिल्मको डिजिटल रिलिजबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले भविष्यमा यसको वास्तविक प्रभाव देखाउनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x