Todays Date: २०८३ जेष्ठ ११

प्रकाश सपूतको फिल्म ‘वसन्त’को पहिलो गीत सार्वजनिक

Prakash Swastima Basanta

गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशित फिल्म ‘वसन्त’को पहिलो गीतको रुपमा ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक उक्त गीतमा प्रकाश स्वयंको गायन छ भने उनलाई ‘गलबन्दी’ गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । सालैजो र यानीमाया भाकाको गीतमा प्रकाश स्वयंको शब्द रचना तथा संगीत छ ।

मौसम हिमालीको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा फिल्मका दुई मुख्य पात्र प्रकाश सपूत र स्वस्तिमा खड्काबीचको प्रेमलाई देखाइएको छ । भिडियोको सुरुवात उनीहरु कलेजबाट फर्किँदै गरेको दृश्यबाट हुन्छ । र, घर जाने बाटो अलग भएपछि उनीहरुबीच चलेको प्रेमिल संवादपछि गीत सुरु हुन्छ । गीतले बाग्लुङको ग्रामीण परिवेश र जीवनशैली पनि देखाउँछ ।

भिडियोमा रोचक पक्ष के छ भने प्रकाश आफ्नो चर्चित गीत ‘गलबन्दी’मा जुन हुलियामा प्रस्तुत भएका थिए, यसमा पनि उनी रोधी बसेको दृश्यमा त्यही गेटअपमा देखिएका छन् । अर्थात् निधारमा रुमाल बाँधेका छन्, गलामा गलबन्दी बेरेका छन् र रातो रंगको हाफ सर्ट लगाएका छन् । यसबाट ‘गलबन्दी’ गीतसँग उनको चरित्रको सम्बन्ध दर्शाउन खोजिएको बुझ्न सकिन्छ ।

आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र स्वस्तिमासहित खड्गबहादुर पुन, प्रभात पल, श्री शिवांसी, उर्मिला लमगडे, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतको अभिनय छ । प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली कार्यकारी निर्मातामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x