Todays Date: २०८३ बैशाख १०

बालेनको आवाजमा ‘लाज शरणम्’ले ल्यायो र्‍यापमा गीत ‘नेपाल हाँसेको’

balen

काठमाडौंका मेयर तथा र्‍यापर बालेन शाहले फिल्म ‘लाज शरणम्’का लागि गाएको ‘नेपाल हाँसेको’ बोलको र्‍याप गीत सार्वजनिक भएको छ । बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनी स्वयंको शब्द रचना तथा म्यूजिक कम्पोज छ । यो गीत करिब १० वर्षअघि नै रिलिज भइसकेको थियो । भिडियो भने बनेको थिएन । त्यही गीतलाई बालेनले फिल्मका लागि पुनः रेकर्ड गरेका हुन् ।

यो गीत सार्वजनिक भएको दुई घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ । बालेन शाहको आफ्नै युट्युब च्यानलबाट रिलिज भएको गीत युट्युबको म्युजिक ट्रेन्डिङ १५ मा पुगेको छ।

गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु अर्जुन घिमिरे, हरिष निरौला, सागर लम्साल, महेश त्रिपाठी, गजित विष्ट, रामबाबु रेग्मी, सानु पाण्डे र बाल कलाकार आयुषी ढकाल प्रस्तुत छन् । भिडियोमा वैदेशिक रोजगारीको दुःखान्त अवस्थालाई चित्रण गरिएको छ, जुन मर्मस्पर्शी छ ।

‘नेपाल हाँसेको’ गीत फिल्ममा भने समावेश नहुने जनाइएको छ । निर्माण टिमले यसलाई ‘प्रमोसनल गीत’ भनेको छ । फिल्मको कथासँग गीतको भाव मिल्ने भएपछि भिडियो तयार पारिएको हो । आगामी फागुन १४ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउन लागेको फिल्मको केही दिनअघि ‘हेर्दा हेर्दैमा’ गीत सार्वजनिक गरिएको थियो, जुन अहिले चर्चामा छ ।

कुमार कट्टेलको निर्देशनमा तयार भएको फिल्ममा सिताराम कट्टेल, प्रियाना आचार्य, विजय बराल, अर्पण थापा, रेणु योगी, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतको पनि अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा छन् । बालेनको गीतले फिल्मको ‘हाइप’ बनाउन ठूलो भूमिका खेल्न सक्ने देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x