
लोकप्रिय कमेडी शो ‘कमेडी दरबार’को २६ औं भागमा प्रशारण भएको एक लाइन युट्युबबाट हटाइएको छ । यो भागमा फिल्म ‘लाज शरणम्’को प्रचारका लागि यसका कलाकारहरू सागर लम्साल, अर्जुन घिमिरे र महेश त्रिपाठी पुगेका थिए ।
यो भागमा कलाकार सुन्दर खनालले ‘बले’ पात्रको क्यारिकेचर गरेका थिए । सोही क्रममा ‘मलाई टिकटकर फाप्दैन’ भन्ने लाइन सुन्दरले ‘बले’को लबजमा बोलेका थिए । यो लाइनमा सागर मुर्छा परेर हाँसेका थिए भने अर्जुनले वान्स मोर भनेका थिए ।
तर, अहिले १४ लाख पटक हेरिएको यो शोजमा यो लाइन छैन । विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, एक टिकटकर महिलाले दिएको उजुरीको आधारमा यो लाइन हटाइएको हो ।
साइबर ब्यूरोमा ती महिला टिकटकरले उजुरी दिएपछि आइतबार यो शोका निर्देशक, निर्माता, सुन्दर खनाल लगायतको टिम साइबर ब्यूरो पुगेको थियो । साइबर ब्यूरोमा यो बिषयमा छलफल भएपछि ‘मलाई टिकटकर फाप्दैन’ भन्ने लाइन हटाइएको हो ।
उसो त, यो लाइनमा कोही पनि टिकटकरको नाम लिइएको छैन । तर, पनि शो र यसका कलाकारविरुद्ध नै साइबर ब्यूरोमा उजुरी परेको हो ।