
शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘११:५५’ ले रिलिजको दोस्रो दिनमै आफ्नो अधिकांश शोज गुमाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सोमबारदेखि उपत्यकामा मात्र एक शो उपलब्ध गराउने निर्णय गरेको छ।
ट्रेलर सार्वजनिक भएपश्चात् सकारात्मक चर्चा कमाएको यो फिल्म रिलिजपछि भने दर्शक तान्न असफल रह्यो। शुक्रबार र शनिबारजस्ता महत्त्वपूर्ण दिनहरूमा समेत हलहरू सुनसान देखिए। यसले फिल्मको कथावस्तु, निर्देशन र कलाकारहरूको प्रस्तुतिप्रति प्रश्नचिन्ह खडा गरेको छ।
फिल्म किन चुक्यो?
केशव पाण्डेको लेखन तथा निर्देशनमा बनेको यो फिल्म कथावस्तुको स्पष्टता नहुँदा कमजोर साबित भयो। निर्देशकले कथाको प्रवाहलाई सशक्त रूपमा प्रस्तुत गर्न सकेनन्, जसका कारण दर्शकहरू कथासँग जोडिन सकेनन्। फिल्म अगाडि बढ्दै जाँदा दर्शकलाई उकुसमुकुस महसुस हुन्छ, तर क्लाइमेक्समा रहस्य खुले पनि त्यो प्रभावकारी हुँदैन। फिल्मको प्रवाह बिचमै भत्किन्छ, जसले गर्दा दर्शकहरू निराश हुन्छन्।
कास्टिङ र अभिनयको कमजोरी
फिल्मका लेखक तथा कार्यकारी निर्माता एमएस अग्रजको कास्टिङ फिल्मको अर्को कमजोर पक्ष रह्यो। उनको भूमिका महत्त्वपूर्ण भए पनि अभिनय प्रभावहीन रह्यो, जसले फिल्मको लय गुमायो।
मुख्य कलाकार महेश त्रिपाठी, श्रृष्टी श्रेष्ठ, करिश्मा श्रेष्ठ लगायतको अभिनय औसत रह्यो। श्रृष्टी श्रेष्ठको अभिनय अपेक्षाकृत कमजोर देखियो। उनको संवाद प्रस्तुत गर्ने तरिका सुधार गर्न आवश्यक देखिन्छ। ‘केटी हराएको सूचना’पछि यस फिल्ममा पनि उनको अभिनयमा उही कमजोरी दोहोरिएको छ।
सागर खनाललाई उदाउने अवसर भए पनि उनको चरित्रलाई फिल्ममा प्रभावकारी रूपमा स्थापित गर्न सकिएन। यदि उनलाई राम्रो स्क्रिन टाइम दिइएको भए, उनले राम्रो अभिनय गर्न सक्ने सम्भावना थियो।
थ्रिलर फिल्ममा न नाटक, न ट्विस्ट
‘११:५५’ क्राइम थ्रिलरको रूपमा निर्माण भए पनि फिल्ममा रोचक ट्विस्टको अभाव छ। दर्शकलाई उत्सुक बनाउने तत्वहरू कमजोर छन्, जसले गर्दा फिल्म बाँधेर राख्न असफल रह्यो।
फिल्मको कमजोर कथावस्तु, कमजोर निर्देशन, अभिनयको असर र थ्रिलर फिल्ममा आवश्यक उतार-चढावको अभावका कारण ‘११:५५’ ले दुई दिनमै दम तोडेको देखिन्छ।