
नायक आकाश श्रेष्ठले आफू नलुकेको बताएका छन् । आज आयोजना भएको ‘माया के हो’ बोलको गीत रिलिज कार्यक्रममा बोल्दै आकाशले भने–‘म हराएको होइन । मिडियाको माझमा मात्र नआएको हुँ । २–३ वटा फिल्मको कुरा भइरहेको छ । जुन गतबर्ष फ्लोरमा जानुपर्ने थियो, जान सकेन । सायद, अब छायांकन सुरु हुन्छ होला ।’
नायक श्रेष्ठले आफ्नो कर्म भूमि नै यही भएका कारण आफू बाहिर जान नसक्ने बताए । उनले भने–‘अहिलेको स्थितीको हेर्ने हो भने स्टारडम वा अरु माध्यम भन्दा पनि बिषयवस्तु चल्छ जस्तो लाग्छ । यो विषयवस्तु निकै कम बन्छ जस्तो लाग्छ । अहिले राम्रो राम्रो फिल्म बन्न छाडेको छ जस्तो लाग्छ । यसैले, म हतार गर्न चाहन्नँ । राम्रो विषयवस्तु भएपछि फिल्म फ्लोरमा जान्छ ।’
प्रेसमिटमा आकाश केही डराए जस्तो देखिएका थिए । उनले आफूलाई अगाडिका असफल फिल्महरुले धेरै कुरा सिकाएको समेत स्पष्ट पारे । उनले भने–‘मैले गल्ती गरेर पनि धेरै कुरा सिकेको छु । पक्कै पनि अब गल्ती नहोस् भनेर काम गर्नुपर्छ जस्तो लाग्छ । चाडै नै मेरो प्रोजेक्टहरु फ्लोरमा जानेछन् ।’
आकाशले यथार्थ फिल्ममा काम गर्न मन लागेको बताए । उनले भने–‘अहिले जनतालाई न्याय पाउन गाह्रो परिरहेको छ । सोही विषयवस्तुलाई नै हामीले दर्शकमाझ फिल्मको माध्यमबाट देखाउन पाउँ भन्ने लागेको छ । विशेषगरि, घटनाहरु नघटोस् भन्नका लागि राम्रो बिषयवस्तुमा काम गर्न मन लागेको छ ।’
निकेश खड्काको निर्देशनमा तयार भएको ‘माया के हो’ बोलको गीतको म्युजिक भिडियोमा आकाशले नायिका उगेन छोदेनसँग काम गरेका छन् ।
सुरेश लामा र त्रिशाला गुरुङको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत, प्रेम राजा अधिकारीको शब्द छ । गीतको भिडियोलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ ।
यो भिडियोमा हरि हुमागाँइको छायांकन, विकास धमलाको सम्पादन छ । कुलेखानीमा यो भिडियो खिचिएको हो ।