
नेपाली फिल्म क्षेत्रका लागि वि.सं. २०८१ साल एक ऐतिहासिक र सफल वर्षको रूपमा दरिएको छ। वर्ष सकिन केही दिनमात्र बाँकी हुँदा सम्म, नेपाली फिल्महरूले घरेलु बक्स अफिसमा मात्र डेढ सय करोडभन्दा बढीको व्यापार गरेका छन्।
यो वर्ष हालसम्म चारवटा नेपाली फिल्मले १० करोडभन्दा बढीको ग्रस कमाइ गर्दै ब्लकबस्टरको उपाधि पाएका छन्। तीमध्ये ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। चलचित्र विकास बोर्डको तथ्यांक अनुसार, यसले नेपालभित्र मात्रै ४६ करोड ८० लाख ग्रस कमाउँदै ‘अल टाइम ब्लकबस्टर’को कीर्तिमान राखेको छ।
दोस्रो स्थानमा ‘१२ गाउँ’ रहेको छ, जसले झन्डै २० करोड ग्रस कमाएको छ। यही फिल्मबाट नायक समीर भट्ट स्टारको रूपमा उदाएका थिए। तेस्रो स्थानमा ‘छक्का पञ्जा ५’ छ, जसले १५ करोड २० लाख ग्रस कमाइ गरेको छ।
चौथो स्थानमा रहेको ‘बोक्सीको घर’ले १० करोड २ लाखको व्यापार गर्दै राम्रो सफलता पाएको छ। केकी अधिकारीको निर्माणमा बनेको यो फिल्म पनि ब्लकबस्टर बन्न सफल भएको छ।
हाल प्रदर्शनरत फिल्म ‘अञ्जिला’ ७ करोड ५० लाखको ग्रस कमाइ गर्दै पाँचौं स्थानमा छ। दर्शकको सकारात्मक प्रतिक्रियाले गर्दा यसको लाइफटाइम कलेक्शन साढे ८ करोड पुग्ने अनुमान गरिएको छ। यसले ‘पूजार सार्की’ (७ करोड ३७ लाख) लाई उछिन्दै उक्त स्थान हासिल गरेको हो।
यो वर्ष ५ करोडमाथि कमाइ गर्ने फिल्महरूमा ‘घरज्वाइँ’ अग्रपंक्तिमा छ। त्यस्तै ‘मनसरा’, ‘लाज शरणम्’, ‘ह्रस्व दीर्घ’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’ र ‘फर्की फर्की’ले ४ करोडभन्दा बढी कमाएका छन्। ‘बेहुली फ्रम मेघौली’ र ‘खुस्मा’ले पनि ३ करोडमाथिको व्यापार गरेका छन्।
विदेशी फिल्मतर्फ पनि नयाँ रेकर्ड
नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म भारतीय चलचित्र ‘पुष्पा २’ बनेको छ। यसले २६ करोड ४४ लाख ग्रस कमाई गर्दै नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने विदेशी फिल्मको कीर्तिमान राखेको छ। यसअघि यो कीर्तिमान ‘केजीएफ २’ (१९ करोड) सँग थियो।
विदेशी फिल्ममध्ये दोस्रो स्थानमा ‘कल्की’ (१२ करोड ५७ लाख) र तेस्रोमा ‘स्त्री २’ (८ करोड ११ लाख) छन्। ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’ले पनि ४ करोडमाथिको व्यापार गरेका छन्।
वि.सं. २०८१ साल स्वदेशी र विदेशी फिल्मले संयुक्त रूपमा नेपालमा झन्डै २५० करोडभन्दा बढीको कारोबार गरेका छन्, जुन हालसम्मकै उच्च आँकडा हो। ‘पूर्णबहादुरको सारङ्गी’को अपार सफलता र ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ जस्ता फिल्महरूको लोकप्रियताले नेपाली फिल्मको भविष्य उज्ज्वल देखिएको छ।