‘झिल्को’बाट वर्षालाई निराशा

गतबर्ष फिल्म ‘छक्का पन्जा ५’ चलेपछि नायिका वर्षा सिवाकोटीको हातमा राम्रै संख्यामा फिल्म परिरहेका छन् । उनले, अभिनय गरेको फिल्म ‘झिल्को’ वैशाखको १९ गतेबाट रिलिजमा आयो । तर, फिल्म हलमा केही घन्टा पनि टिकेन । हलमा दर्शक नै आएनन् । निर्माण टिमले फिल्मको प्रचारमा यति धेरै वेवास्ता गर्यो कि, हलमा फिल्म आएको पनि दर्शकले थाहा पाएनन् ।
शनिबार नायिका सिवाकोटीकै पहलमा काठमाडौंको सिभिल मलमा एक शो त हाउसफुल भयो । तर, बाँकी शोमा दर्शकको उपस्थिति दयनीय नै देखियो ।
वर्षाको अब आशा यो वर्षको तीजमा रिलिज हुन लागेको फिल्म ‘माग्ने राजा’मा छ । फिल्म ‘झिल्को’ नचलेपछि वर्षामा बेचैनी बढेको छ । सामाजिक संजालमा उनले एउटा स्टाटस लेख्दै फिल्म राम्रो बनाएर मात्र नहुने, प्रचारप्रसारमा पनि ध्यान दिनुपर्ने भन्दै निर्माण टिमसँग असन्तुष्टि पोखिन् ।
यता, फिल्मका निर्देशक यादव कुमार भट्टराई ‘झोला’को ब्रान्ड बेचेर ‘झिल्को’ चल्ने आशामा थिए । तर, उनको आशा पनि निराशामा बदलियो ।
नायिका सिवाकोटी भने फिल्म कलाकारको कारणले मात्र नचल्ने भन्दै प्रचारमा पनि विशेष ध्यान दिनुपर्ने तर्क गरिरहेकी छिन् । आशा गरौं, फिल्म ‘माग्ने राजा’ले वर्षाको खुशी फर्काउनेछ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।