
डान्सर तथा फिल्म ‘एक्लो’की कलाकार कविता नेपालीले ८ हजार मिटर भन्दा अग्ला दुई हिमालको सफल आरोहण गरेकी छिन् । उनले, आइतबार सगरमाथाको सफल आरोहण गरिन् भने सोमबार ल्योत्सेको सफल आरोहण गरिन् ।
कविताले एक दिनको अन्तरमा दुई अग्ला हिमाल आरोहण गरेपछि बधाईको ओइरो लागेको छ । उनी लामो समयदेखि सगरमाथा आरोहणको तयारीमा लागिरहेकी थिइन् ।
कविताले दुवै हिमालको सफल आरोहण गर्दै गर्दा नेपालको राष्ट्रिय झण्डा फर्फराएकी छिन् । साथै, उनले आफूले अभिनय गरेको फिल्म ‘एक्लो’को पोस्टर पनि देखाएकी छिन् ।
सामाजिक संजालमा उनले लेखेको स्टाटसमा आफू हराइरहेको र अहिले आएर फेला पारेको उल्लेख गरेकी छिन् । कविताले फेसबुकमा लेखेकी छिन्–‘यो यात्रा केवल शिखरहरूको बारेमा मात्र नभएर सपना देख्नेहरू, केही गर्न खोज्नेहरू र सीमा भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि थियो । सबैभन्दा महत्वपूर्ण कुरा मैले यसलाई जितेकी होइन, यो जित भन्दा माथि हो ।’
कवितासँगै एक दर्जन विदेशी नागरीकहरुले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।