‘पिताम्बर’को दोस्रो श्रृंखला बन्ने

फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा आयोजना गरिएको विशेष समारोहमा फिल्मले प्रदर्शनको ५१ औं दिन पूरा गरेको खुसीयाली मनाउँदै निर्माण टिमले यसको दोस्रो भाग बनाउने घोषणा गरेको हो।
निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने दोस्रो श्रृंखला ‘पिताम्बर’को प्रिक्वेल हुने जनाइएको छ। निर्देशक चौलागाईंले फिल्म रिलिजअघि नै प्रिक्वेलको तयारी थालिएको र झन्डै एक घण्टाको दृश्य खिचिसकिएको बताएकी थिइन्। उनले भनिन्, “प्रिक्वेलका लागि झन्डै एक घण्टाको फुटेज तयार भइसकेको छ, अब अन्त्यका दृश्यहरू खिच्न बाँकी छन्।”
‘पिताम्बर’ गत चैतको अन्त्यमा प्रदर्शनमा आएको थियो। फिल्मले काठमाडौंको रञ्जना सिनेप्लेक्स र बिग मुभिजमा ५१ दिन प्रदर्शन सफलतापूर्वक पूरा गरेको छ भने देशव्यापी रूपमा करिब साढे ४ करोड रुपैयाँ कमाइ गरिसकेको छ। निर्माताको हातमा करीब २ करोड जति पुगेको अनुमान छ। फिल्मको निर्माण लागत ४ करोडमाथि भएकाले घरेलु कमाइबाट घाटा व्यहोरे पनि युट्युब र ओभरसिज अधिकार बिक्रीबाट लगानी उठेको जनाइएको छ।
बदलाको कथामा आधारित यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, सुरक्षा पन्त, प्रदीप खड्का, अनुपविक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आर्यन सिग्देललगायतका कलाकारको अभिनय रहेको छ। दोस्रो श्रृंखलामा प्रदीप, सौगात र सुरक्षाको पुनरागमन हुने चर्चा छ।
‘पिताम्बर २’ मा विशाल चौलागाईं निर्माता रहने छन् भने पुरुषोत्तम प्रधानले छायांकन तथा सह-निर्माताको भूमिका निभाउनेछन्। फिल्मको निर्माण र प्रदर्शन मिति भने अझै तय गरिएको छैन।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।