
अभिनेता राजेश हमालले वर्षमा एउटा फिल्ममा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताएका छन् । गत सोमबार साँझ ६१औँ जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा फिल्म लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताए ।
उनले भने, ‘केही वर्ष म फिल्मबाट हराएँ । किनकि मैले खोजेको जस्तो विषयवस्तु र निर्माण समूहसँग जोडिन पाएको थिइन्, तर अब वर्षमा एउटा फिल्ममा काम गर्ने सोच बनाएको छु । म जति समय काम गर्छु, एउटा फिल्म वर्सेनि दर्शकसम्म पुगोस् भन्ने चाहना छ, यद्यपि त्यसका लागि राम्रो विषयवस्तु चाहिन्छ ।’
उनले आउँदो वर्ष पुनः नयाँ फिल्म लिएर दर्शकसमक्ष पुग्ने बताए । ‘अहिले प्रदर्शनरत फिल्म ‘नरसिंहा अवतार’ का क्रममा दर्शकसँग भेटघाट गर्दा पनि उहाँहरूको इच्छा फिल्मबाट गायव नभइदिएहुन्थ्यो भन्ने पाएँ । सोही कारण पनि नयाँ फिल्मको तयारी गरिरहेको छु, तर हतार गरेर काम गर्ने पक्षमा भने म छैन’, अभिनेता हमालले भने ।
पुस्तकका विषयमा जानकारी दिँदै उनले ३५ वर्ष लामो कलाकारिता यात्रामा सार्वजनिक नभएको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषयलाई समेटिएको जानकारी दिए ।