
षट्कोण आर्ट्सको ब्यानरमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘लालीबजार’ का लागि दुई लोकप्रिय अभिनेत्रीहरू केकी अधिकारी र स्वस्तिमा खड्कासँ अनुबन्धित भएको चर्चा चलेको छ । यद्यपि कलाकारहरूको औपचारिक घोषणा भइसकेको छैन, स्रोतका अनुसार दुवै कलाकारको लुक्स टेस्ट सम्पन्न भइसकेको छ।
नेपाली सिनेमा बजारमा केकी र स्वस्तिमाको नाम बलियो ब्रान्डको रूपमा लिइन्छ। केकी अधिकारीले भर्खरै मात्र ‘झिंगेदाउ २’ साइन गरेकी छिन् भने स्वस्तिमा खड्काको पनि क्रेज उत्तिकै छ।
फिल्मको लेखन तथा निर्देशन यम थापाले गरिरहेका छन्। निर्माण पक्षले छायांकन दशैंपछि सुरु गर्ने योजना बनाएको छ। अहिले स्क्रिप्टको काम तीव्र गतिमा अगाडि बढिरहेको बताइएको छ।
फिल्मका निर्माता रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्री हुन् भने प्रदीप भट्टराई कार्यकारी निर्माताको भूमिकामा रहनेछन्।
यसअघि सार्वजनिक गरिएको थिम पोस्टरमा रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको थियो, जसले दर्शकमाझ फिल्मको विषयवस्तुप्रति कौतूहलता थपेको छ।
‘लालीबजार’ को औपचारिक कास्ट घोषणा र अन्य जानकारी निर्माण पक्षले छिट्टै सार्वजनिक गर्ने बताइएको छ।