Todays Date: २०८३ जेष्ठ १७

“म जनतामाझ पुग्न चाहन्छु, त्यसैले म भिडियो र महोत्सवमा सक्रिय छु”- पल शाह

paul

नायक पल शाह पछिल्लो समय म्युजिक भिडियो, फिल्म र महोत्सवमार्फत निरन्तर रूपमा सक्रिय देखिन्छन्। उनको यस्तो सक्रियताले कहिले काँही आलोचना पनि खेप्नुपरेको छ। कतिपयले उनलाई ‘सस्तो बनेको’ आरोप लगाउँछन्। तर, पल भने आफ्नै स्पष्ट धारणासहित अगाडि बढिरहेका छन्।

फिल्म ‘मोहर’ को गीत रिलिज कार्यक्रममा उनले दिएको अभिव्यक्ति अहिले चर्चाको विषय बनेको छ। कार्यक्रममा उनले किन भिडियो र महोत्सवमा बढी देखिने भनेर राखेको तर्क निकै खुलस्त र केही हदसम्म विवादास्पद पनि देखिन्छ।

“म दर्शकसँग हात मिलाउन चाहन्छु, उनीहरूको प्रतिक्रिया प्रत्यक्ष लिन चाहन्छु,” पलले भने, “आमा, कस्तो हुँदैछ भनेर सोध्न मन लाग्छ, बुबासँग प्रतिक्रिया लिन मन लाग्छ। त्यसैले म मेला महोत्सवमा पुग्ने गर्छु।”

उनले म्युजिक भिडियोको महत्त्वसमेत जोड्दै भने, “जब भिडियोमा ४–५ लाख रुपैयाँको अफर आउँछ, अनि को खेल्दैन त? अहिले त १० लाखसम्मको बजेटमा भिडियो बन्छ। मैले हालसम्म २०–२५ वटा भिडियोमा काम गरिसकेको छु, र ती सबै दर्शकले मन पराउनुभएको छ।”

“नेपालमा जम्मा ३ प्रतिशत दर्शकले मात्र फिल्म हेर्छन्। बाँकी ९७ प्रतिशत दर्शक त फिल्म नै हेर्दैनन्। त्यसैले फिल्म नहेरीकन आलोचना गर्नु अन्याय हो”, पलले भने ।

उनले म्युजिक भिडियोका पहुँच र प्रभावबारे भने, “जहाँ हल छैन, त्यहाँ म्युजिक भिडियो पुगेको छ। सडकमा हिँड्दा फिल्म मात्र गर्ने कलाकारलाई चिन्ने संख्या न्यून हुन्छ। तर म्युजिक भिडियोमार्फत जनतामा चिनिएको कलाकारलाई भने सबैले चिन्छन्। मलाई भारत, चीनको बोर्डरदेखि विदेशसम्म दर्शकले चिनेका छन्।”

पलले थपे, “फिल्म नहेर्ने दर्शकले पनि भन्छन्, ‘तपाईंको म्युजिक भिडियो हेरेको थिएँ।’ यो मेरो लागि गर्वको कुरा हो। म फिल्म, भिडियो दुवैमा काम गरिरहेको छु, कार्यक्रमहरूमा आमाबुबाको आशीर्वाद लिइरहेको छु। मलाई अफर आउँछ, त्यसैले काम गरिरहेको छु। अरूलाई पनि अफर आएको भए सायद काम गर्नुहुन्थ्यो होला।”

उनको निष्कर्ष स्पष्ट थियो — “फिल्म मात्र गर्ने १० प्रतिशत कलाकारलाई मात्र जनताले चिन्छन् होला, बाँकीलाई होइन। मलाई लाग्छ, सबै कलाकारलाई जनताले चिन्नुपर्ने हो।”

पल शाहको यो अभिव्यक्तिले फेरि एक पटक नेपाली कलाकारिता क्षेत्र र दर्शकबीचको सम्बन्धमाथि बहस जन्माउने देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x