Todays Date: २०८३ जेष्ठ १७

खगेन्द्र र वर्षाको ‘हर्ष’ मंसिर १२ गतेलाई तय

harsa

एकता पौडेलको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हर्ष’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार युट्युबमार्फत टाइटल भिडियो सार्वजनिक गर्दै आगामी मंसिर १२ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराइएको हो ।

भिडियोमा स्वर्गीय निर्देशक शिव रेग्मी (मामा)प्रति फिल्म समर्पित भनिएको छ । एकता निर्देशक रेग्मीकी भान्जी हुन् । भिडियोमा कलाकारहरुको परिचयसहित आकर्षक रुपमा डिजाइन गरिएको शीर्षक समावेश छ भने बाँसुरी (बाजा)लाई प्राथमिकताका साथ राखिएको छ । यसले धार्मिक कथावस्तुमा फिल्म आधारित रहेको संकेत गर्छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित लगायतको अभिनय छ ।

प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, समीर-हिमाल, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ । फिल्ममा शिव रेग्मीले लेखेको एउटा गीत समेत समावेश गरिएको छ ।

अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी निर्देशक पौडेलले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । केही छोटा फिल्महरु बनाएपछि उनले ‘हर्ष’बाट निर्देशनमा डेब्यु गरेकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x