
काठमाडौं । दुई वर्ष अगाडि आफ्नै घरमा मृत भेटिएका नायक सारुक ताम्रकारको सम्झनामा नायिका उषा रजकले भावुक अभिव्यक्ति दिएकी छन् । सामाजिक सञ्जालमा आठ मिनेट लामो भिडियो सेयर गर्दै उनले ताम्रकारको मृत्युप्रति गहिरो पीडा व्यक्त गर्नुका साथै केही शंकासमेत प्रकट गरेकी छिन् ।
उषाले भिडियोमा भनिन्, “आज सारुकको दोस्रो डेथ एनिभर्सरी रहेछ । म दुई–तीन हप्तादेखि डिप्रेस्ड छु । मलाई पनि कहिलेकाहीं लाग्छ कि म पनि मरेँ भने हुने हो कि ? उसलाई अब बैकुण्ठ बास भइसक्यो होला ।” भावुक मुद्रामा प्रस्तुत भएकी उनले सारुकको मृत्युले आफूमात्र होइन, उसका परिवार विशेषगरी आमालाई गहिरो घाउ दिएको बताइन् ।
“ऊ त साथी मात्रै थियो तर पनि यति पीडा भइराखेको छ, उसकी आमाले त कति दुःख भोग्नुपरेको होला ? बुबा पनि बित्नुभयो । म केही गर्न सकिनँ, मनमा पश्चाताप हुन्छ,” भन्दै उनले आँसु रोक्न सकिनन् ।
उषाले ध्यान, योग, वेद र पुराणतर्फ आफू आकर्षित भइरहेको बताउँदै सारुकको मृत्युमा आध्यात्मिक संकेत देखिने अनुभव सुनाइन् । “जब ध्यान गर्छु, सारुक स्वर्गमा शान्त ठाउँमा बसेको जस्तो लाग्छ,” उनले भनिन् ।
भिडियोमा उनले आफ्नो वर्तमान मानसिक अवस्थाबारे पनि खुलस्त गरेकी छन् । “म हरेक दिन बसिरहन, रुन सक्दिन । घरको काम, बच्चाको हेरचाह, स्कुल पठाउनु पर्ने । यस्ता अवस्थामा डिप्रेस्ड हुनुले बच्चालाई पनि असर गर्छ,” उषाले दुखेसो पोखिन् ।
सारुक ताम्रकारको निधन २ वर्षअघि भएको थियो । प्रहरी अनुसन्धान अनुसार उनले आत्महत्या गरेका थिए भन्ने पुष्टि भइसकेको छ । तर पनि समय–समयमा उनका साथी, परिवार वा सहकर्मीले मृत्युका कारणबारे विभिन्न शंकाहरू सार्वजनिक गर्ने गरेका छन् । उषाको यो अभिव्यक्तिले पुनः सारुकको मृत्युबारे चासोको लहर सिर्जना भएको देखिन्छ ।