
फिल्म ‘दान्भी’बाट ठूलो पर्दामा डेब्यू गरेका नायक कुन्साङ बमजनले नयाँ फिल्म साइन गरेका छन् । करिब एक वर्षपछि उनले नयाँ फिल्म ‘सुम्निमा’ साइन गरेका हुन् । मिलन चाम्सको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका उपासना सिंह ठकुरी शीर्ष भूमिकामा फाइनल भइसकेकी छिन् । अब, फिल्मको पर्दामा उपासना र कुन्साङको रोमान्स हेर्न पाइनेछ ।
नायक बमजनले यो फिल्ममा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको भन्दै आफ्नो पात्रको लागि लागिपर्ने बताए । गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुन लागेको यो फिल्मले प्रेमकथा भन्नेछ । फिल्मका अन्य कलाकार तथा प्राविधिकहरूको नाम एकपछि अर्को रुपमा सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।
निर्देशक चाम्सले यूनिभर्सल कथा र अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राख्दै यो फिल्म तयार पार्ने बताए । राजीव थापाको लेखनमा बन्न लागेको यो फिल्मको छायांकन अगष्टमा लण्डन र नेपालमा गरिनेछ । चाम्सले निर्देशन गरेको पछिल्लो फिल्म ‘अञ्जिला’ बक्स अफिसमा सुपरहिट भएको थियो ।