
‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टरमा खुसी र तनावको मिश्रण देखिएको छ। कलाकारहरूको भावभंगिमा खुसी र तनाव सन्देश दिने शैलीमा तयार पारिएको पोस्टर आज सार्वजनिक गरिएको हो।
निर्माणपक्षले सार्वजनिक गरेको यस पोस्टरमा चलचित्रका शीर्ष ६ पात्र देखिएका छन्। शीर्ष स्थानमा रहेका कामेश्वर चौरसिया लामो कपाल र दारीसहितको हुलियामा खुसी मुद्रामा देखिन्छन्।
पोस्टरमा अन्य कलाकारहरू शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी पनि छन्। प्रकाश, गौमाया र लक्ष्मी केही तनावग्रस्त मुद्रामा प्रस्तुत छन्।
यो पोस्टरमा सरकारी कार्यालयहरू पनि समावेश गरिएको छ। मोरङ जिल्ला कारागार स्पष्ट देखिन्छ भने अर्को एउटा सरकारी भवन पनि देखिएको छ, तर त्यो कुन कार्यालय हो भन्ने खुलाइएको छैन।
पोस्टरमा कलाकारहरूको अनुहारमा गरिएको रङ संयोजनले आँट, तनाव र गंजागोलको सन्देश दिएको देखिन्छ। यद्यपि, त्यो किन हो भन्ने कुरा स्पष्ट छैन। पोस्टरले पैसा, सम्बन्ध वा विश्वासजस्ता संवेदनशील विषयसँग जोडिएको संकेत दिन्छ।
यसअघि सोमबार ‘अभिमन्यु : च्याप्टर–१’ का दुईवटा पोस्टर सार्वजनिक गरिएका थिए। ती पोस्टरहरूमा पनि खुसी र तनावको भाव प्रष्ट देखिन्थ्यो।
‘अभिमन्यु : च्याप्टर–१’ आगामी भदौ २७ गते प्रदर्शनमा आउँदैछ। यसको हिन्दी संस्करण असोज ६ गते (सेप्टेम्बर २२) मा वर्ल्डवाइड रिलिज हुने निर्माण पक्षले जनाएको छ।
चलचित्रले पैसाको प्रलोभनमा परेर चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन संघर्ष गर्ने पात्रको कथा भन्ने बताइएको छ।
पोस्ट–प्रोडक्सनमा रहेको यस चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङदेल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाको मुख्य भूमिका रहेको छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण गरिएको यस चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो।
मुकेश खनालको लेखन रहेको चलचित्रका क्रिएटिभ निर्देशक मदन थापा हुन्।
‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।