
कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित रहेर तयार हुन लागेको फिल्म ‘परालको आगो’मा नायक सौगात मल्ल भित्रिएका छन् ।
फिल्मको टिमले उनीसँग बिहिबार औपचारिक रुपमा कागजी संझौता गरेको हो । फिल्ममा सौगात ‘जुठे दमाई’को भूमिकामा देखिदैछन् । यसअघि यो भूमिकामा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको थियो । तर, निर्माण टिमसँग विभिन्न कुराले असमझदारी भएपछि जितु फिल्मबाट बाहिरिएका थिए ।
सुशील पोखरेलको निर्माणमा बन्न लागेको यो फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने, ज्याक श्रेष्ठ लगायतका कलाकारहरू फाइनल भइसकेका छन् । फिल्ममा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत छ । लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको फिल्मको छायांकन भदौको २६ गतेबाट म्याग्दी जिल्लामा हुनेछ ।
सामाजिक सन्देश दिने यो फिल्ममा संकल्प भुजेलको डीओपी, रामजी लामिछानेको नृत्य निर्देशन, सुशील देवकोटाको लेखन छ । फिल्म ‘परालको आगो’ आज भन्दा ४५ वर्ष अगाडि निर्देशक प्रताप सुब्बाले तयार पारिसकेका छन् ।