
यसपालिको दशैंको फूलपाती (१३ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा प्रकाश सपूत र समीक्षा अधिकारीको स्वर रहेको छ भने प्रकाश स्वयंको शब्द तथा संगीत छ । गीतमार्फत गायक सपूतले आफ्नो मौलिकपनको आभाष गराएका छन् ।
मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र स्वस्तिमा खड्काको आकर्षक नृत्य देख्न सकिन्छ । भिडियोमा उनीहरु रोमान्टिक देखिएका छन् । माया–प्रेमका भावना व्यक्त भएको गीतमा बेला बितेपछि र मन जितेपछि कसैको केही नलाग्ने कुरा गरिएको छ । गीतको भिडियोलाई पवन सुस्लिङ्गले छायांकन गरेका हुन् ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा र प्रकाशसहित हरिवंश आचार्य, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल, नरेन्द्र कंसाकार, अन्सु महर्जन लगायतको अभिनय रहेको छ । फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । कार्यकारी निर्मातामा शैलेश खत्री रहेका छन् ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यो फिल्मलाई कृष्ण बहादुर थापाले खिचेका हुन् भने सम्पादन नकुल खड्काको रहेको छ । ब्याकग्राउन्ड स्कोर शैलेश श्रेष्ठ र रोहित शाक्यले गरेका छन् । फिल्ममा हरिवंश आचार्यको कथा तथा पटकथा रहेको छ । उनको चर्चित पात्र ‘हरिबहादुर’मा आधारित भएर फिल्म बनेको हो ।