
कलाकार हरिवंश आचार्यको चर्चित पात्र ‘हरि बहादुर’ फेरि दर्शकमाझ आएको छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर पात्रलाई केहि समयको विश्राम पश्चात फिल्ममा ल्याएका छन् । आगामी दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हरि बहादुरको जुत्ता’ मार्फत दर्शकलाई भिन्न हरिबाहादुरसँग परिचित गराउने कलाकार हरिवंशले बताएका छन् ।
बुमर्सदेखि जेनेरेसन जेड (जेनजी)सम्म लोकप्रिय हरिबहादुरको यो नयाँ यात्राले दर्शकको मन जित्ने अपेक्षा अभिनेता आचार्यको छ । ‘टेलिशृङ्खला अरूलाई रुवाउने हरिबहादुर पात्र फिल्ममा भने आफैं पटक-पटक भावुक बनेको छ । फिल्मले हरिबहादुरको भावनात्मक यात्रासँगै नेपालको वर्तमान सामाजिक-राजनीतिक अवस्थालाई पनि चित्रण गरेको छ । खासगरी युवापुस्ताले उठाएका मुद्दा र मागसँग फिल्मको भावना मिल्छ’, अभिनेता आचार्यले भने ।
फिल्मले नेपाली राजनीतिमा ३५ वर्षदेखि एउटै अनुहारको वर्चस्व रहेको र अब युवा पुस्ताले नेतृत्व लिनुपर्ने सन्देश बोकेको उनले बताए । ‘यो डिजिटल युगमा पनि हाम्रा राजनीतिज्ञको सोचले प्रगति गर्न सकेन । यो विषयमा फिल्म बनाउनुपर्छ भनेर मैले कथा लेखेको थिएँ । अहिलेको नयाँ पुस्ताको सोच पनि यस्तै पाईयो,’ उनले भने ।
हास्य र सामाजिक सन्देशको अनुपम सङ्गमका रूपमा चिनिएको यो फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । फिल्मको निर्देशन दीपेन्द्रकुमार खनालले गरेका छन् भने निर्मातामा मोहितवंश आचार्य र सरोज ओली छन् ।‘हरि बहादुरको जुत्ता’ ले दर्शकलाई हाँसो, मनोरञ्जन र सामाजिक सन्देशको संयोजनमार्फत पुरानो सम्झना ताजा गराउने अपेक्षा गरिएको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्मित यो फिल्ममा छायांकन कृष्ण बहादुर थापा र सम्पादन नकुल खड्काले गरेका छन् । सङ्गीतमा बसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको योगदान छ । आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर फिल्ममा समावेश छ ।