Todays Date: २०८३ जेष्ठ २

दिग्गज भारतीय गायिका आशा भोसलेको निधन

asha bhosle

प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । उनलाई शनिबार साँझ त्यहाँ भर्ना गरिएको थियो । त्यतिबेला उनलाई कार्डियाक अरेस्ट भएको खबर आएको थियो । पछि उनकी नातिनी जनाई भोसलेले सामान्य थकान र छातीमा समस्या मात्र भएको बताएकी थिइन् ।

गायिका भोसलेले आफ्नो गायन करिअरमा १२ हजारभन्दा बढी गीत गाएकी छन् । उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’, ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू निकै लोकप्रिय छन् । उनले ‘गैरी खेतको शिरै हान्यो’, ‘म प्यार बेचिदिन्छु’, ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘मोहनी लाग्ला है’ जस्ता कालजयी नेपाली गीतहरू पनि गाएकी छन् ।

आशा भोसले प्रसिद्ध रंगमञ्च अभिनेता तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन् । उनी जब ९ वर्षकी थिइन्, उनका बुबाको निधन भएको थियो । त्यसपछि दिदी लता मंगेशकरसँग मिलेर परिवारलाई सहयोग गर्न गायन करिअर सुरु गरेकी उनले १९५० र ६० को दशकमा बलिउडमा एकछत्र राज गरेकी थिइन् ।

१६ वर्षको उमेरमा उनले आफ्नी दिदी लताको ३१ वर्षीय सेक्रेटरी गणपतराव भोसलेसँग सन् १९४९ मा भागेर विवाह गरेकी थिइन् । लता र उनको परिवार यो विवाहको कडा विरोधमा थियो । उनीहरूले लामो समयसम्म आशासँग बोलचाल समेत गरेनन् । तर, विवाहपछि उनको जीवन निकै कष्टकर बन्यो । घरेलु हिंसाका कारण सन् १९६० मा उनले श्रीमानबाट अलग हुने निर्णय लिइन् ।

आशा भोसलेको दोस्रो विवाह संगीतकार आर.डी. बर्मनसँग सन् १९८० मा भएको थियो । तर, बर्मनकी आमाले यो विवाहको कडा विरोध गरेकी थिइन् । त्यसबेला उनले बर्मनलाई भनेकी थिइन्, ‘यदि यो विवाह हुन्छ भने मेरो लाशमाथि मात्र हुनेछ ।’ बर्मनकी आमाले विरोध गर्नुको कारण आशा उनीभन्दा ६ वर्ष जेठी हुनु र उनी पहिले नै ३ सन्तानकी आमा हुनु थियो ।

हिन्दी, बंगाली, मराठी लगायत २० भन्दा बढी भाषामा गीत गाएकी आशाले फिल्ममा अभिनय समेत गरेकी छन् । सन् २०१३ मा प्रदर्शन भएको फिल्म ‘माई’मा उनले ६५ वर्षकी महिलाको भूमिकामा अभिनय गरेकी थिइन्, जो अल्जाइमर रोगबाट पीडित हुन्छिन् । आफ्नो अभिनयका लागि उनले समीक्षकहरूबाट प्रशंसा पाएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x