
प्रदर्शनपूर्व अनेकौँ अवरोध र विवादको घेरामा परेको फिल्म ‘लालीबजार’ले बक्स अफिसमा भने सानदार नतिजा निकालेको छ । ‘जात्रा’ सिरिजमार्फत दर्शकको मन जितेको निर्माण कम्पनी षट्कोण आर्ट्सको यो नयाँ प्रस्तुतिले नेपाली फिल्म बजारमा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको हो ।
‘लालीबजार’को प्रदर्शन यात्रा सहज थिएन । फिल्म रिलिज हुनुअघि अदालतमा मुद्दा परेपछि यसको प्रदर्शन नै रोकिने अवस्था आएको थियो । अर्कोतर्फ, सामाजिक सञ्जालमा ‘खरानी ग्याङ’को फिल्म भन्दै एक समूहले बहिष्कार (Boycott) को अभियान नै चलाएको थियो । यी प्रतिकूल परिस्थितिका कारण फिल्मको व्यापारमा गम्भीर असर पर्ने विश्लेषण धेरैले गरेका थिए ।
तर, फिल्म प्रदर्शनमा आएपछि दृश्य फेरियो । पहिलो दिनको औसत व्यापारपछि दोस्रो दिन (शनिबार) बाट फिल्मले उत्साहजनक गति लियो । दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रियाले फिल्मलाई दोस्रो सातासम्म पनि हलमा टिकाइराख्न मद्दत गर्यो ।
निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार फिल्मले प्रदर्शनको १४ औँ दिनसम्म ५ करोडको आँकडा सहजै पार गरेको छ । जेठ ७ गते राति ११:५९ बजेसम्मको तथ्याङ्क अनुसार फिल्मले कुल ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
षट्कोण आर्ट्सका सीइओ म्याक्स दीपेश खत्रीले फिल्मको सफलतामा खुसी व्यक्त गर्दै भने, “फिल्मले आमा र छोरीको भावनात्मक कथा र शिक्षाको महत्त्वलाई केन्द्रमा राखेकाले आम दर्शकले आफूलाई फिल्मसँग जोड्न सक्नुभयो । हाम्रो मुख्य उद्देश्य दर्शकलाई सन्तुष्ट बनाउनु थियो, जसमा हामी सफल भएका छौँ ।”
‘लालीबजार’को सफलताले सबैभन्दा ठूलो राहत अभिनेत्री स्वस्तिमा खड्कालाई दिएको छ । उनका अघिल्ला तीन फिल्महरू ‘बेहुली फ्रम मेघौली’, ‘वसन्त’ र ‘हरिबहादुरको जुत्ता’ले व्यावसायिक रूपमा अपेक्षित नतिजा दिन सकेका थिएनन् ।
एकपछि अर्को फिल्म सफल नहुँदा स्वस्तिमाको स्टारडममाथि प्रश्न उठ्न थालेको थियो । तर, ‘लालीबजार’ यो वर्षकै पहिलो हिट फिल्म बन्ने दिशामा अघि बढेपछि उनको स्टारडम फेरि एकपटक प्रमाणित भएको फिल्म विश्लेषकहरू बताउँछन् ।
यम थापाको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा स्वस्तिमा खड्काको साथमा बाल कलाकार समाइरा थापाको मुख्य अभिनय छ । यस्तै रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल लगायतको सशक्त अभिनय रहेको छ ।
फिल्मको कार्यकारी निर्मातामा सफल निर्देशक प्रदीप भट्टराई छन् भने निर्मातामा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ रहेका छन् ।