
दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रिय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरङ्ग’ आगामी मंसिर १८ गतेदेखि रिलिज हुने भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै रिलिजको मिति टुंगो लगाएको हो ।
देवदत क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् । पोस्टरमा प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । यो फिल्ममा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् ।
तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । महेश पौडेलको छायांकन रहेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ ।
फिल्मका गीतहरूमा सुगम पोखरेल, मेलिना राई, पवन गिरी, मनोज महतो, मनोज थापा मगरको स्वर छ ।
मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको फिल्म सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम रहेको निर्देशक प्रदीपले बताए । यो फिल्मको निर्माणमा देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको छ ।