News

प्राइभेट च्याट भाइरल भएपछि सुजन चापागाईंले भने- ‘हृदयदेखि नै माफी माग्न चाहन्छु’

sujan
sujan

प्राइभेट च्याट सार्वजनिक भएपछि विवादमा परेका गायक सुजन चापागाईंले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै माफी मागेका छन्।

हाल अष्ट्रेलियामा सांगीतिक भ्रमणमा रहेका उनले आफू निकट सम्बन्धमा रहेका साथीहरूसँग विगतमा सन्देश आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट सिर्जिएको परिस्थितिप्रति दुःख व्यक्त गरेका हुन्।

चापागाईंले सार्वजनिक भएका सबै सामग्रीबारे भने आफू अनभिज्ञ रहेको दाबी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल विभिन्न समयमा सामाजिक सञ्जाल म्यानेजरले पनि सञ्चालन गर्ने गरेको उल्लेख गर्दै त्यसक्रममा दुरुपयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्।

उनले आफ्नो नाममा धेरै फेक अकाउन्ट सञ्चालन भइरहेको जानकारीसमेत प्राप्त भएको उल्लेख गर्दै यस्ता अनैतिक र गैरजिम्मेवार गतिविधिबारे आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जानकारी दिएका छन्।

अष्ट्रेलियाको सांगीतिक यात्रा सम्पन्न भएपछि नेपाल फर्केर कानुनी उपचारको प्रक्रिया अघि बढाउने उनले बताएका छन्। साथै, आगामी दिनमा सामाजिक सञ्जाल प्रयोगबारे थप सचेत रहने र गम्भीर आत्मसमीक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

आफ्नो धारणा सार्वजनिक गर्दै चापागाईंले दर्शक, श्रोता, परिवार, आफन्त तथा शुभेच्छुकसँग क्षमा मागेका छन्। “मेरो बदनियत नहुँदा नहुँदै यहाँहरूले बेहोर्नुपरेको समस्याका लागि म माफी चाहन्छु,” उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

image 14
Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments