
विनोद पौडेलको निर्देशन रहने फिल्म ‘भूठान’मा अमेरिकी अभिनेता ब्रुस डेर्नले पनि अभिनय गर्ने भएका छन् ।
८५ वर्ष छेउछाउका बु्रसले सन् २०१३ मा रिलिज भएको ‘नेब्रास्का’बाट युरोपको सर्वाधिक प्रतिष्ठित फेस्टिभल कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसैगरी उनले सन् १९८३ मा रिलिज भएको ‘द्याट च्याम्पियनसिप सिजन’बाट बर्लिनमा सिल्भर बियर अवार्ड जितेका थिए ।
गोल्डेन ग्लोबदेखि ओस्कार अवार्डसम्ममा मनोनयनमा परेका ब्रुसले यही महिना ‘भूठान’को सेट ज्वाइन गर्नेछन् । फिल्मको सुटिङ सोमबारबाट अमेरिकाको ओहायो राज्यको एक्रोनमा सुरु भएको छ । १ महिना सुटिङ अवधि रहेको फिल्मका लागि हरिवंश आचार्य र दयाहाङ राई यसअघि नै अनुबन्धित भइसकेका छन् ।
अंग्रेजी नाम ‘ह्याप्पिएस्ट म्यान इन दि वल्र्ड’ राखिएको फिल्मले भुटान छाडेर अमेरिकामा आप्रवासनमा गएका एक वृद्धको कथा भन्नेछ ।
फिल्ममा हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरिरहेका छन् । फिल्ममा जोयस पान्डे, विमल सुवेदी, ऋचा घिमिरे, पूजा लामा आदि कलाकारको पनि अभिनय रहनेछ । फिल्मलाई विनोद पौडेलले लेखेका हुन् भने फिल्मको छायांकन सुशन प्रजापतिले गरिरहेका छन् ।