Todays Date: २०८३ जेष्ठ १७

‘नेपाली कलाकारले नगरेको रोल भारतीयले गरें’

neeta dhungana

अभिनेत्री नीता ढुंगानाले श्रीमान् तथा अभिनेता हरिहर अधिकारीसँग मिलेर निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपालीसँगै भारतीय फिल्मका नामुद कलाकारहरुको अभिनय छ । ब्रह्मानन्दम, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनील वर्मा, अली, कबीर दुहन सिंह जस्ता साउथका लोकप्रिय कलाकारहरु फिल्ममा देखिँदैछन् । जसले गर्दा भारतीय बजारमा समेत फिल्मको चर्चा छ ।

तर, यतिबेला नीतामाथि एउटा प्रश्न उठेको छ, ‘के नेपाली कलाकार नपाएर भारतीय लिएको हो ?’ सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले यस विषयमा स्पष्ट पार्ने प्रयास गरिन् । केही नेपाली कलाकारहरुलाई फिल्म अफर गरेको भए पनि काम गर्न इच्छा नदेखाउँदा भारतीय लिनुपरेको उनको भनाई छ । आफ्नो प्राथमिकतामा सधैं नेपाली कलाकार नै पर्ने नीता बताउँछिन् ।

‘मैले नेपाली कलाकार नपाएर भारतीय लिएको होइन । जुन-जुन क्यारेक्टरमा साउथका कलाकारहरु देखिनुभएको छ, त्यो पहिला नेपाली कलाकारहरुलाई नै अफर गरेका थियौं । तर, सबैको आ-आफ्नो व्यस्तता वा के कुरामा चित्त बुझेन होला, त्यसैले गर्नुभएन । त्यसपछि भारतीय कलाकार लियौं,’ नीता भन्छिन्, ‘मेरो प्राथमिकतामा नेपाली कलाकार नै पर्नुहुन्छ । र, यसमा दर्जनौं हुनुहुन्छ ।’

अन्य मुलुकका कलाकारले विभिन्न भाषाका फिल्ममा काम गर्नुलाई उनी सकारात्मक मान्छिन् । उनलाई कलाको देश र जात हुँदैन भन्ने लाग्छ । उनी भन्छिन्, ‘कलाको देश र जात हुँदैन । हामीले जहाँ गएर पनि र जुन भाषामा पनि काम गर्न सक्छौं । बलिउडका कलाकारले हलिउड र तेलुगू कलाकारले हिन्दी फिल्म गरिरहेका छन् । अनि हामी किन सानो सोच्ने ? हामी पनि माथि उठ्नुपर्छ ।’

फिल्ममा भारतबाट बुलन्द कलाकारहरु लिएकाले व्यापारमा सहयोग मिल्ने नीताको विश्वास छ । तर, उनी के कुरामा प्रष्ट छिन् भने फिल्म कलाकारले मात्र चल्दैन । ‘कलाकारले मात्र फिल्म चल्ने होइन । दुई/चार दिन चल्ला तर त्यसपछि फिल्म आफैं बोल्नुपर्छ । यसैले फिल्म मजबूत हुनुपर्छ भन्नेमा हामी गम्भीर छौं,’ नीताले भनिन् । ‘ह्रस्व दीर्घ’ आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x