
फिल्म ‘१२ गाउँ’को सिक्वेल एक वर्षभित्र निर्माण हुने भएको छ । ‘१२ गाउँ’ सुपरहिट भएपछि निर्माणपक्षले सिक्वेल निर्माण गर्ने भएको हो ।
निर्देशक विराज भट्टले ‘१२ गाउँ’को सिक्वेल चाँडै बन्ने बताएका हुन् । ‘हामी अब अर्को दसैँ र तिहारसम्म हामी अर्को फिल्म लिएर आउँछौँ । हामीले यसको केही तयारी पनि गरिसकेका छौँ,’ सञ्चारकर्मीसँग विराज भन्छन्, ‘अब यो फिल्म पनि नयाँ फिल्मको निर्माणको प्रोसेस अगाडि बढाउँछौँ ।’
यसअघिको जस्तो अर्को फिल्म निर्माणका लागि ढिलो नगर्ने उनले बताए । ‘बलिदान’को काम समीर भट्टले सकेपछि विराज भट्ट प्रोडक्सनले फिल्म बनाउन सुरु गर्ने उनको भनाइ छ ।
‘समीरले बलिदानको काम सकेपछि हामी हाम्रो फिल्म निर्माण सुरु गर्नेछौँ,’ विराज भन्छन्, “आउँदो दसैँ र तिहारमा विराज भट्ट प्रोडक्सनबाट बनेको अर्को फिल्म दर्शकले हेर्न पाउनुहुनेछ ।’
‘१२ गाउँ’ले तीन हप्तामा साढे २३ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । फूलपातीका दिन रिलिज भएको फिल्मले तीन हप्तामा २३ करोड ५० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
समीर भट्टले दर्शकबाट अनपेक्षित साथ पाएको बताएका छन् । ‘सुरुमा हामीले यति चल्छ भन्ने सोचेकै थिएनौँ । दुईतीन दिन त हाउसफूल हुन्छ भन्ने यसको ट्रेलरले देखाएको थियो । अब यो भन्दा राम्रो फिल्म दिने मलाई पनि चुनौती छ । बुवालाई पनि चुनौती छ । तर चुनौती भए पनि हामी मेहनत गरेर यो भन्दा राम्रो फिल्म दिनेछौँ ।’
‘१२ गाउँ’लाई महिलाले पनि विशेषरुपमा मन पराएको समीरले बताएका छन् । प्रत्येक शोमा ७० प्रतिशतसम्म महिला रहेको उनले बताएका छन् । ‘हाम्रो फिल्म हेर्न महिलाहरु धेरै आउनु भएको छ । तीनचार वर्षको बच्चा लिएर महिलाहरू आइरहनुभएको छ । महिलाहरू यसै पनि इमोस्नल हुनुहुन्छ, त्यसमाथि उहाँहरुलाई कनेक्ट गरेपछि सिनेमा हिट हुन्छ,’ उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘महिलादेखि बृद्धबृद्धासम्म आइरहनु भएको छ ।’ एक्सन फिल्म भए पनि सबै उमेरसमूहले मन पराएको उनको भनाइ छ ।
विराजले अहिले आफूहरू सेलिब्रेसन गरिरहेको बताएका छन् । ‘दर्शकसँग बसेर फिल्म हेर्ने, सेलिब्रेसन गरिरहेका छौँ । उहाँहरुको अनुहारमा खुसी छ, हाम्रा लागि यही नै खुसी हो,’ विराज भन्छन् ।
दर्शकले पठान र शाहरुख खानभन्दा पनि ‘१२ गाउँ’ राम्रो लाग्यो भन्दै १२ अर्ब कमाउनु पर्ने भन्दै शुभकामना दिएका छन् । हिन्दी फिल्मजस्तै बनेको भन्दै ‘१२ गाउँ’को तारिफ दर्शकले गरिरहेका छन् ।
‘म विराज भट्टको फ्यान हुँ, उहाँका भोजपुरी फिल्म पनि हेरेको छु । उहाँको साङ्लो त मन परेको थिएन । तर यो धेरै राम्रो रहेछ मन पर्यो,’ हलमा फिल्म हेरेर निस्किएका एक दर्शक भन्छन्, ‘हिन्दी र साउथका फिल्मजस्तै लाग्यो, राम्रो छ ।’
‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् ।
फिल्ममा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन–थ्रिलर कथामा बनेको फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका थिए । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली फिल्म सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।
महेश पौडेल छायांकन रहेको फिल्मको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।