News

‘पूर्ण बहादुरको सारङ्गी’को पाँच दिनको कलेक्सन करिब ५ करोड, क्यूएफएक्सले दियो ‘सुपरहिट’को मान्यता

purna ko sarangi
purna ko sarangi

कात्तिक १५ गतेबाट प्रदर्शनमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार फिल्मको यो कलेक्सन सोमबारसम्मको हो ।

आक्रामक कलेक्सन गरिरहेको फिल्मले पाँच दिनमै लगानी सेभ गरेको छ । लगानी उठाएर निर्माणपक्ष नाफामा समेत गइसकेको वितरकको दाबी छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको फिल्म हो ।

फिल्म हेर्न दर्शक ओइरिएपछि हलहरुले उल्लेख्य मात्रामा शो वृद्धि गरेका छन् । अहिले ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’भन्दा लगभग दोब्बर बढी शो फिल्मलाई दिइएको छ ।

मंगलबार देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र ७९ शो दिएको छ । जबकि, रिलिजको दिन यही चेनले जम्मा ३८ शो दिएको थियो । क्यूएफएक्सले फिल्मलाई ‘सुपरहिट’को मान्यता समेत दिइसकेको छ । व्यापारको आधारमा क्यूएफएक्सले फिल्मलाई ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ घोषणा गर्ने गरेको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ ठूलो जोखिम मोलेर प्रदर्शनमा आएको थियो । किनकि, फिल्मलाई हलमा टिक्न नै सहज थिएन । एकातिर दशैंका दुई फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को हलमा दबदबा कायम थियो भने अर्कोतिर बलिउडका ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’को ठूलो ‘थ्रेट’ थियो । तर, यतिबेला सबै फिल्ममाथि ‘पूर्ण बहादुरको सारङ्गी’ भारी परेको छ ।

यो फिल्मको टिकट पाउन दर्शकलाई मुश्किल परिरहेको छ । भोलि बुधबारका लागि अग्रिम टिकट बूकिङ आक्रामक छ । आज देशभरका सबै जसो हलमा टिकट पाउन मुश्किल देखिएको छ । फिल्मलाई रातको ११ बजेसम्म हलहरुले शोज दिएका छन् । 

सरोज पौडेलले निर्देशन गरेको फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

फिल्ममा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

फिल्मले गन्धर्व समुदायको कथा भन्छ । छोराको भविश्यका लागि बुवाले गर्ने संघर्ष यो फिल्मको मुख्य कथा हो ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments