Todays Date: २०८३ जेष्ठ ११

‘महाभोज’मा मिरुनाको ठाउँमा गौमाया

gaumaya

फिल्मको छायांकन सुरु नहुँदासम्म कलाकार भित्रने र बाहिरिने क्रम जारी रहन्छ । एक हिसाबले यो सामान्य हो । तर, भित्रनेभन्दा बाहिरिनेको सवालमा अक्सर एउटा प्रश्न उठ्ने गर्छ- ‘टिमभित्र उत्पन्न मनमुटाव वा असमझदारीका कारण बाहिरिने अवस्था आएको त होइन ?’ किनकि, धेरैजसो फिल्मबाट कलाकारहरु छायांकनको संघारमा बाहिरिनुको पछाडि यही कारण मुख्य हुने गरेको छ ।

यतिबेला फिल्म ‘महाभोज’बाट अभिनेत्री मिरुना मगर अलगिएको खबर छ । यसको पुष्टि निर्देशक दिनेश राउत स्वयंले गरेका छन् । मिरुनाको ठाउँमा गौमाया गुरुङ भित्रिसकेकी छन् । कुनै असमझदारी उत्पन्न भएर मिरुनाले फिल्म नछाडेको निर्देशक राउतको भनाइ छ । पारिवारिक कारणले गर्दा तत्काल समय दिन नभ्याउने भएपछि मिरुना सहमतिमै अलगिएको उनले बताए ।

केही दिनदेखि फिल्मको वर्कसप जोरसोरले चलिरहेको छ । मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, आर्यन सिग्देल, गौमाया गुरुङ, अञ्जना बराइली, मलिका महत वर्कसपमा सहभागी छन् । फिल्मका अर्का मुख्य अभिनेता दयाहाङ राई भने काम व्यस्तताले गर्दा वर्कसपमा जोडिन पाएका छैनन् । आगामी माघ १ गते मुहूर्त गरेर फिल्मको छायांकन सुरु गरिँदैछ ।

विकास सुवेदीको लेखन रहेको ‘महाभोज’मा अनुपविक्रम शाही, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतको पनि अभिनय रहनेछ । फिल्मको निर्माता हिमाल कडरिया हुन् । सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मलाई आगामी जेठमा रिलिज लक्ष्य राखिएको छ । यसअघि निर्देशक राउतको ‘पूजार सार्की’ पनि जेठमै रिलिज भएको थियो । उनले जेठ महिनालाई ‘लक्की’ मानेको देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x