
काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बनेको एक्सनप्रधान नेपाली फिल्म ‘रावायण’ विवादमा तानिएको छ । फिल्मको कार्यकारी निर्माता तथा अभिनेता सुसन पाठकमाथि विद्यार्थीहरूलाई माल्टा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरी उक्त रकम फिल्ममा लगानी गरेको गम्भीर आरोप लागेको छ ।
किंग्स पार्क एजुकेसन कन्सल्टेन्सीका सञ्चालकसमेत रहेका पाठकमाथि ठगिएका विद्यार्थीहरूले न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा सार्वजनिक रूपमा आपत्ति जनाएका हुन्। उनीहरूले पाठकले माल्टा पठाइदिने भन्दै प्रति विद्यार्थी औसतमा १० लाख रुपैयाँ असुलेको दाबी गरेका छन्। तीमध्ये पाँच जनाबाट मात्र ५२ लाख रुपैयाँभन्दा बढी असुलिएको विवरण कार्यक्रममार्फत प्रस्तुत गरिएको छ।
एक पीडितले खुलासा गरेअनुसार, “अरुको चलाएको पैसाले अहिले हामी ब्याज तिरिरहेका छौं। उसले हाम्रो पैसा कलेजमा पनि तिरेको रहेनछ। हामीले सुसनको बुबासँग कुरा गर्दा उनले सबै पैसा ‘रावायण’ फिल्ममा लगाएको बताएका थिए। त्यसको प्रमाण मसँग सुरक्षित छ।”
सुसनले रकम बुझाएका विद्यार्थीहरूलाई अर्कै कन्सल्टेन्सी ‘सिभिल्ला एजुकेसन’को नाममा रसिद दिएको तथ्य पनि सार्वजनिक भएको छ। फिल्म ‘रावायण’को असफलतापछि उनले कन्सल्टेन्सी बन्द गरी पछिल्लो आठ महिनादेखि सम्पर्कविहीन भएको पीडितहरूको भनाइ छ।
४ करोडभन्दा बढी लागतमा निर्माण भएको फिल्म ‘रावायण’मा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छन्। प्रचारप्रसारको क्रममा निकै चर्चामा आए पनि फिल्म बक्स अफिसमा असफल भएको थियो। फिल्मले एक करोड रुपैयाँ पनि फिर्ता गर्न नसकेको जानकारी स्रोतले दिएको छ।
यसैबीच, प्राविधिकहरूको १५ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक बाँकी रहेको भन्दै निर्माता विरुद्ध प्राविधिक संघमा उजुरी परेको छ । केही प्राविधिकले अझै पनि आफ्नो पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
सुसन पाठकमाथि कानुनी कारवाही हुने सम्भावना बढिरहेको छ भने पीडित विद्यार्थीहरूले न्यायको लागि सम्बन्धित निकायहरूमा उजुरी गर्ने तयारी गरिरहेका छन् ।