Todays Date: २०८३ बैशाख ११

६ वर्षपछि फर्किए मुस्कान ढकाल, फिल्म ‘रत्यौली’ निर्देशन गर्ने

image

विवाह संस्कारमा गाइने मौलिक लोकगीत ‘रत्यौली’बाट प्रेरणा लिएको नयाँ नेपाली फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। नेपाली संस्कृति, परम्परा र मौलिकतामा आधारित भएर निर्माण हुने यो सिनेमाले सांस्कृतिक विषयवस्तुलाई चित्रण गर्ने लक्ष्य लिएको छ।

फिल्म ‘रत्यौली’लाई रन्जन रिजालले प्रस्तुत गर्दैछन्। उनी यो फिल्ममार्फत निर्माता रूपमा डेब्यु गर्न लागेका हुन्। २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं म्युजिक भिडियोमा अभिनय गर्दै दर्शकमाझ सशक्त कलाकारको छवि बनाएका छन्।

फिल्मको निर्देशन मुस्कान ढकालले गर्नेछन्। ‘नाई नभन्नु ल ३’ र ‘समभर लभ’ जस्ता हिट फिल्म निर्देशन गरिसकेका ढकाल नेपाली फिल्म उद्योगका सम्भावनाशील युवा निर्देशकका रूपमा चिनिन्छन्। सांस्कृतिक र पारिवारिक कथावस्तुलाई मुख्य आधार बनाएर उनी यसपटक ‘रत्यौली’ निर्देशनमा जुट्न लागेका हुन्।

नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो सिनेमामा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकाल स्वयंले लगानी गर्नेछन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी तिहारपछि सुरु गरिनेछ।

हाल टाइटल सार्वजनिक गरिएको फिल्मका लागि कलाकार छनोट र प्राविधिक तयारीको काम अघि बढिरहेको जानकारी दिइएको छ। ‘रत्यौली’ले नेपाली समाजको सांस्कृतिक पक्ष उजागर गर्दै दर्शकलाई भावनात्मक रूपले जोड्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x