Todays Date: २०८३ जेष्ठ ११

कस्तो छ ‘मोहर’ र ‘सिटामोल’को व्यापार ?

image 10

गत जेठ महिनादेखि एकपछि अर्को आशातित फिल्मले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म क्षेत्रमा छाएको गहिरो निराशालाई शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ले केही हदसम्म चिर्न र आशा जगाउन सफल भएका छन् । पहिलो दिन शुक्रबार औसत प्रदर्शन गरेका यी दुवै फिल्मले शनिबार भने देशभर दर्शकको उत्साहजनक साथ पाए । अझ बढी ‘मोहर’ले ।

शुक्रबार दुवै फिल्मको बिहानी शोमा देशव्यापी अकुपेन्सी २० प्रतिशतभन्दा तल थियो । दिउँसो र साँझपखका शोमा भने दुवैले देशव्यापी २५-३० प्रतिशत हाराहारी अकुपेन्सी हासिल गरे । यो उत्साहजनक नभए पनि निराशाजनक पनि थिएन । शुक्रबारको प्रदर्शनले शनिबार दुईवटै फिल्मको देशव्यापी अकुपेन्सीमा वृद्धि हुने प्रष्ट संकेत गरेको थियो । र, त्यो केही हदसम्म देखियो पनि ।

शनिबार बिहानसम्म दुवै फिल्मको शोमा देशभर दर्शकको चाप औसत थियो । तर, दिउँसो १ बजेपछि भने विशेषगरी ‘मोहर’लाई काठमाडौंसहित नेपालगञ्ज, चितवन, पोखरा जस्ता सहरमा दर्शकको उत्साहजनक साथ मिल्यो । धेरैपछि बालाजुमा रहेको एक हजार सिट क्षमताको अष्टनारायण हल समेत हाउसफुल भयो । शनिबार फिल्मको देशव्यापी अकुपेन्सी ७० प्रतिशत नजिक थियो ।

‘सिटामोल’ले शनिबार ‘मोहर’ बराबारको अकुपेन्सी हासिल गर्न नसकेको भए पनि शुक्रबारभन्दा फिल्म हेर्ने दर्शकको चापमा वृद्धि देखिन्थ्यो । काठमाडौं, नेपालगञ्ज, बुटवल, पोखरा, बनेपा जस्ता सहरमा फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद् थियो । समग्रमा शनिबार फिल्मको देशव्यापी अकुपेन्सी ५० प्रतिशत आसपास रह्यो । यो फिल्मले दर्शकबाट प्रतिक्रिया भने लोभलाग्दो पाएको छ ।

शनिबार सुखद् विताएका ‘मोहर’ र ‘सिटामोल’को बक्स अफिसमा वास्तविक परीक्षा भने आइतबारबाट सुरु भएको छ । किनकि, अब भनेको ‘वर्ड अफ माउथ’ (दर्शकीय प्रतिक्रिया)ले फिल्म चल्ने हो । शुक्रबार र शनिबार हल पुगेका दर्शकहरुले फिल्मबारे कस्तो प्रचार गर्छन्, त्यसले नै यी दुवै फिल्मको व्यापारिक भविष्य निर्धारण गर्नेछ । यसैले आइतबारदेखिको व्यापार महत्त्वपूर्ण छ ।

शुक्रबार र शनिबार दुवै फिल्मका कलाकारहरुले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । सबैभन्दा धपेडी चाहिँ अभिनेत्री बेनिशा हमाललाई भयो । दुवै फिल्मकी उनी मुख्य अभिनेत्री हुन् । यसैले उनी कहिले ‘मोहर’ त कहिले ‘सिटामोल’ हेरेका दर्शकसित भेट गर्न थुप्रै हलमा पुगिन् । दुवै फिल्ममा आफ्नो कामको प्रशंसा हुँदा उनी गदगद देखिएकी थिइन् ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’मा बेनिशासहित पल शाह, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ । देउकी कुप्रथा (बाइसे-चौबिसे राज्यको समयमा देवी-देवताको सेवा गर्न केटी चढाउने प्रचलन)को कथालाई केन्द्रमा राखेर बनेको फिल्मका निर्माता चुम्बनजंग शाही हुन् ।

त्यस्तै, राज बहादुर साने निर्देशित ‘सिटामोल’मा बेनिशासहित सौगात मल्ल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय रहेको छ । ‘जन्ते बाख्रो’का निर्देशक सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको फिल्ममा राज बहादुर साने र प्रदीप भारद्वाजको लेखन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x