
फिल्म ‘११ः५५’ को छायांकन सकिएको छ । फिल्मको छायांकन सकिएको अवसरमा यसको निर्माणपक्षले बुधबार बेलुकी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा फिल्मसँग जोडिएका प्राविधिक तथा कलाकारहरुलाई सम्मान गरिएको थियो ।
फिल्मको सम्पूर्ण छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको छ । यो फिल्ममा महेश त्रिपाठी, श्रृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतका कलाकारको अभिनय छ ।
यो फिल्ममा ६ व्यक्तिको कथा समेटिएको छ । फिल्मको छायांकन समयमा नै सकिएकोमा खुशी लागेको भन्दै नायिका श्रृष्टी श्रेष्ठले आफूहरुले राम्रो काम गरेको बताइन् ।
विचित्र फिल्मसँग गुड जब आर्टस्को सहकार्यमा यो फिल्म निर्माण भएको हो । फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ भने जुनानाथ सापकोटा यसका सह–निर्माता हुन् ।
प्रद्युमन मिश्रको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको एक्सन रहेको फिल्मले सस्पेन्स थ्रिलर कथालाई उठान गरेको छ । यो फिल्मलाई भदौमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ ।