Todays Date: २०८३ असार १

सौगात मल्ल भन्छन् – पात्र तयार गर्न शारीरिकभन्दा पनि मानसिक रुपमा तयार हुनुपर्छ

432296762 431106129479807 3646050174772609614 n

अभिनेता सौगात मल्ल फिल्ममा निर्वाह गरेको पात्र र भूमिकाबाट पनि दर्शकमाझ परिचित कलाकारमा पर्छन् ।

कैयन नाटकमा काम गर्दा प्राप्त गर्न नसकेको अपेक्षाकृत व्यवसायिक सफलता उनले ‘लुट’लगायतका फिल्मबाट पाए । फिल्म लुटमा निर्वाह गरेको ‘हाकु काले’को भूमिकाले उनको परिचय नै फेरिदिएको थियो । त्यसैले त अझै पनि कैयन दर्शकहरु अझै उनलाई हाकुकालैकै नामले पनि चिन्छन् । ‘हाकु काले’ उनलाई ‘मास’मा परिचित गराउने पात्र समेत बन्यो ।

त्यसबाहेक फिल्म कागबेनी, कथा, फिटकिरी, बधशालालगायतमा गरेको अभिनयले उनलाई उम्दा अभिनेताका रुपमा बलियो गरी स्थापित गरिदियो । मल्लले आकाश अधिकारीद्वारा निर्देशित फिल्म ‘रणभूमि’ मा पहिलो पटक अभियन गरेका थिए । त्यसपछि फिल्म ‘दाग’, ‘पक्षी’ जस्ता फिल्ममा काम गरे ।

फिल्ममार्फत व्यवसायिक सफलता मिले पनि यस क्षेत्रमा उनको जग बलियो बनाउने काम भने रङ्गमञ्चले ग¥यो । उनलाई यहाँसम्म ल्याउन रङ्गमञ्चको भूमिका ठूलो भएको धेरैको भनाइ छ । उनलाई अझै पनि रङ्गमञ्चकै कलाकारका रुपमा चिन्नेको जमात पनि ठूलै छ ।

रङ्गमञ्चमा लामो समय बिताएका उनी पछिल्लो समय फिल्ममा व्यस्त छन् । त्यसैले त चाहेर पनि रङ्गमञ्चमा फर्कन पाएका छैनन् । यद्यपि रङ्गमञ्चमा फर्कने चाहना भने लामो समयदेखि भएको उनको भनाइ छ ।

“नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएको छैन”, उनले भने, “केही साथीसँग फिल्ममा काम गर्ने र त्यसलाई नै नाटकका रुपमासमेत प्रस्तुत गर्ने तयारी पनि भएको थियो ।”

पात्रको भूमिकाबाट पनि चर्चा कमाए पनि उनलाई यदाकदा एकै किसिमको भूमिकामा देखिने गरेको आरोप पनि पनि नलागेको होइन । तर उनी भने यसबारे आफू जानकार र सचेत रहे पनि आफूले मेहनतमा कुनै कमजोरी नगरेको बताउछन् ।

“हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोसिस गरिरहेका हुन्छौँ । तर, हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ । हामीले प्राप्त गरेको पात्रको भूमिका निर्वाह गरिरहेका हुन्छौँ, त्यो के कस्तो हुँदैछ भन्ने निक्यौल गर्ने र निर्णय गर्ने पहिलो दर्शक निर्देशक नै हुनुहुन्छ”, अभिनेता मल्लले भने ।

लगातार फिल्ममा अभिनय गर्दा आफू पनि पात्रकै जीवन जिउने गरेको पनि उनको अनुभव छ । उनी केही विश्राम गरेर काम गर्न सके नयाँ पात्र प्रस्तुत हुनुका साथै अभिनयमा ताजगी ल्याउन सकिने सोचमा छन् । सोहीअनुसार आगामी दिनमा उनले फिल्ममा काम गर्ने तालिका समेत बनाएका छन ।

“पात्र तयार गर्न शारीरिकभन्दा पनि मानसिक रुपमा तयार हुनुपर्छ । र, यसका लागि समय चाहिन्छ”, उनले भने, “शारीरिक रुपमा तयार हुन समस्या नभए पनि मानसिकरुपमा तयार हुन समय चाहिन्छ ।”

उनले मैले पछिल्लो समय अभिनय गरेको फिल्म ‘अगस्त्य’का लागि २० किलो तौल घटाएर फेरि बढाएका थिए । “त्यसका लागि मैले चार महिना अगाडि नै अन्य फिल्मको छायाङ्कनमा खानपिनमा ध्यान दिएँ । तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन निकै समय लाग्यो”, उनले भने ।

लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेश र आफ्ना भोगाइलाई समावेश गरेर पात्रलाई तयार गर्ने गरेको उनको भनाइ छ । उनलाई पात्रबाट निस्किन समय चाहिन्छ । जसका लागि एउटा काम र अर्कोकामबीच केही समय विश्राम गर्ने तयारी समेत अभिनेता मल्लले गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x