
चर्चित गायिका समीक्षा अधिकारी हालै आयोजित एक कार्यक्रममा प्रस्तुति दिन दाङ पुगेकी थिइन् ।
अभिनेता पल शाहको गृह जिल्ला दाङका आयोजना गरिएको होलीको साङ्गीतिक प्रस्तुति दिन पुगेकी अहिले सर्वाधिक चर्चामा रहेकी गायिका अधिकारी दर्शकबाटै उपेक्षित भएकी छन् । समीक्षालाई नै दंगेलीहरूले नस्विकारेका हुन् ।
देश तथा विदेशका स्टेज शोमा उच्च डिमान्ड रहेको समीक्षा आउने कार्यक्रममा भने दर्शक नआउँदा उनको निर्धारित कार्यक्रम नै रद्द भएको हो । कार्यक्रम भने भए पनि समीक्षाले भने प्रस्तुति दिन पाइनन् ।
फागु पर्वको पूर्वसन्ध्यामा १० चैत शनिबार तुलसीपुरले अरनिको मैदानमा कन्सर्ट आयोजना गरेको थियो । आयोजक थियो, प्राकृतिक कलाकेन्द्र । कार्यक्रममा मुख्य आकर्षण थिइन् समीक्षा ।
कार्यक्रमको आयोजकले राम्रै प्रचारप्रसार गरे पनि टिकट २३ जनाले मात्र काटे । दर्शकको भीड आएपछि स्टेज उक्लने उनको अपेक्षा थियो । तर, दर्शक कुर्दाकुर्दै राति भयो । दर्शक नआएपछि आयोजकले समीक्षालाई स्टेजमा नै लगेनन् ।
समीक्षा आएको दिन जम्मा २३ वटा मात्रै टिकट बिक्री भएको आयोजक प्राकृतिक कलाकेन्द्रका अध्यक्ष चोभार पौडेलले बताए । उनले भने, ‘‘जम्मा २३ जना दर्शकको माझ त्यत्रो चलेको कलाकारलाई कसरी स्टेजमा लैजानु ?’’
विभिन्न जिल्लाका स्टेज कार्यक्रममा भने समीक्षाको प्रस्तुतिमा ठुलै भीड हुने गर्छ । दाङको घटनाबारे भने समीक्षा बोलेकी छैनन् । कतिपयले कार्यक्रम आयोजकले राम्रो प्रचार र व्यवस्थापन गर्दा टिकेट काटेर दर्शकहरू हेर्न नआएको हुनसक्ने भनेका छन् ।
दुई वर्षअघि समीक्षाले पललाई मुद्दा हालेकी थिइन् । तर, समीक्षाले पललाई फसाएको भन्ने छाप दंगालीमा परेको देखिन्छ । समीक्षा उपस्थित कन्सर्टमा दर्शक नआउनु सोही मुद्दाको साइड इफेक्ट रहेको कतिपयको दाबी छ । समीक्षाकै जाहेरीमा पल शाह १ वर्ष जेल बसेर निस्किएका थिए । उनी दोषी ठहर नभएपछि जेल मुक्त भएका हुन् । त्यसैको साइड इफेक्टको रुपमा समीक्षालाई पल शाहको गृक जिल्लाका दर्शकले अघोषित बहिष्कार गरेको हुनसक्ने कतिपयको विश्लेषण छ।
तुलसीपुरस्थित मेट्रो होटेलमा बसेकी समीक्षा स्टेजमै नचढी फर्किएकी छन्। उनले कार्यक्रममा गीत समेत गाउन पाइनन्।