Todays Date: २०८३ बैशाख १०

‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने, नयाँ निर्देशक भित्रिए

HOSTEL 3 ANNOUNCEMENT POSTER

नेपाली फिल्म क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित सिरिज फिल्म’होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ। फिल्मको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्।

यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’मा उनको लगानी रहने छैन। उनले आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई फिल्म बनाउन अनुमति दिएका छन्। यसअघि वि.सं. २०७६ सालमा निर्माता रावल आफैले निर्देशन गर्ने गरी ‘होस्टेल ब्याक अगेन’ शीर्षकमा तेस्रो भाग बनाउने तयारी गरेका थिए। विविध कारणले उनले फिल्म बनाएनन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ‘होस्टेल ३’ बनाउनेछ। निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन्।

वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’लाई हेमराज बिसीले निर्देशन गरेका थिए भने २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’लाई सुरज भुसालले निर्देशन गरेका थिए। यी दुवै फिल्म ‘टीनएज ड्रामा’मा आधारित थिए। घरेलु बक्स अफिसमा दुवै चलचित्र सफल भएका थिए।

‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए। उनले यस फिल्मबाट पनि अघिल्ला भागहरूमा जस्तै केही स्टार कलाकारको जन्म हुने सङ्केत गरे। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका सशान कँडेल डेढ दशक देखि गायक र म्युजिक भिडियो निर्देशकको रूपमा सक्रिय छन्। उनले अभिनेताहरू राजेश हमाल, आर्यन सिग्देल, पल शाह, आकाश श्रेष्ठ तथा अभिनेत्रीहरू करिश्मा मानन्धर , पूजा शर्मा, स्वस्तिमा खड्का, आँचल शर्मा, केकी अधिकारी लगायतलाई म्युजिक भिडियोमा निर्देशन गरेका छन्। उनका चर्चित भिडियोहरूमा पुस्पन प्रधानको चर्चित गीत ‘बाबुको जुङो’, राजेश राइको ‘तोडियो तोडियो’, प्रमोद खरेलको ‘अन्त माया’, ‘आफू दुखी बनेर’ आदि रहेका छन्। उनले स्वर दिएको गीत ‘एक दिन त जाने हो संसार छोडेर’ निकै चर्चित छ।

‘होस्टेल ३’का लेखक माधव शर्मा एक दशक यता नेपाली फिल्ममा सक्रिय छन्। रेडियो जक्की हुँदै यस क्षेत्रमा प्रवेश गरेका उनले ‘ए मेरो हजुर ४’, ‘उपहार’ लगायत दर्जन बढी फिल्मको लेखन समूहमा रही काम गरेका छन्। करिब डेढ वर्ष लगाएर यो चलचित्रको स्क्रिप्ट तयार पारेका शर्माले ‘होस्टेल ३’ आफ्नो लेखन करियरको कोशे ढुङ्गा साबित हुने विश्वास लिएका छन्।

‘होस्टेल ३’को लागि पनि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’को प्रोडक्सन सम्हालेका यम प्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन्। फिल्मका प्राविधिक टिम र कलाकारहरू पत्रकार सम्मेलनको आयोजना गरी चिनाउने तयारी रहेको निर्देशक कँडेलले बताए। यस वर्षको अन्त्यतिर रिलिज लक्ष्य राखिएको निर्देशकले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x