
‘ह्रस्व दीर्घ’ फिल्मले आफ्ना प्रमुख अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरेको छ । बुधबार उनको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पोस्टर लुक्स सार्वजनिक गरेको हो ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म सार्वजनिक पोस्टरमा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ । एउटामा उनी निधारमा चन्दन लगाएर प्रस्तुत छन् भने अर्कोमा लामो कपालसहित ‘इन्टेन्स लुक’मा देखिएका छन् ।
हरिहरको लुक्सले चरित्रबारे केही संकेत गर्छ । चन्दन, घाँटीमा बुटी, रुद्राक्षको माला र गेरु गम्छा भिरेको चरित्र धार्मिक देखिन्छ । कपाल फिजाएको चरित्रमा भने क्रोधको भाव झल्किन्छ । उनको दुईवटा लुक्सले हिंसाको बाटो अंगालेको पात्रको धार्मिक यात्रालाई दर्शाएको छ । अभिनयको हिसाबले हरिहरको यो दोस्रो फिल्म हो । उनको डेब्यू फिल्म ‘शुभ लभ’ थियो ।
दशैंको अवसर पारेर आगामी असोज ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा हरिहरका साथै नीता ढुंगाना, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतले अभिनय गरेका छन् भने साउथ फिल्मका ब्रह्मानन्दम, अली, ‘गजनी’ भिलेन प्रदीप रावत, कबीर दुहान सिंहलगायतको पनि अभिनय छ । फिल्मको कथा हरिहर आफैंले लेखेका हुन् ।
भारत र नेपालमा गरी फिल्मको दुई चरणमा छायांकन भइसकेको छ । अब अन्तिम चरणको छायांकन भारतमा गर्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई भारतका छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड फिल्म छायांकन गरिसकेका छन् । नीताको प्रोडक्सन कम्पनी नीता फिल्म्सले फिल्मको निर्माण गरेको हो ।