
वैशाखको २१ गतेबाट रिलिजमा आएको फिल्म ‘मनसरा’ले पहिलो सातामा राम्रो व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । आजबाट फिल्म दोस्रो सातामा प्रवेश गरेको छ ।
यद्यपि, ‘मनसरा’ले बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको छैन । रिलिजपूर्व १० करोडको आँकडा नघाउने प्रक्षेपण गरिएको फिल्मको व्यापार कछुवाको गतिमा छ । पहिलो हप्ता फिल्मले सुखद अंक जोडेको छ ।
एक हप्तामा फिल्मले ३ करोड २० लाख कमाएको निर्माण टिमको दाबी छ । ‘वर्ड अफ माउथ’ अब्बल प्राप्त भएकाले व्यापार बढ्ने विश्वास अझै निर्मातामा देखिएको छ । यसैबिच, फिल्मको निर्माणपक्षले बिहिबार बेलुकी विशेष शोको आयोजना गरेको छ ।
फिल्म हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली महिला फुटबल टिमका सदस्यहरू, नेपाल प्रहरीका उच्च पदस्थ कर्मचारीहरू, नायक प्रकाश सपुत, नायिका रेजिना उप्रेति, कलाकार लुनिभा तुलाधर, पूर्व मिस नेपाल उषा खड्गी लगायत हल पुगेका थिए ।
फिल्म हेरिसकेपछि राप्रपा अध्यक्ष लिङ्देनले प्रशंसा गरे । उनले, निर्देशक उपेन्द्र सुब्बाले मिहिनेत गरेको बताए । नेपालको जुन जातीय र सांस्कृतिक विविधता छ, त्यसलाई फिल्मले जोड्ने कोशिश गरेको उनको भनाई छ ।
गायक तथा कलाकार सपुतले फिल्म एउटा किताब पढे जस्तो रहेको बताए । उनले, यो फिल्मले जीवनसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको सुनाए ।
विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन थाक्लुङ सह–निर्माता छन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।
सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई सह–निर्माताको रुपमा छन् । यो फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई, मेनुका प्रधान, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय छ । फिल्मले दोस्रो सातामा पनि राम्रो कमाई गर्ने विश्वास गरिएको छ ।
