Todays Date: २०८३ बैशाख १८

‘एक्सन फिल्मबारे जे सोचेकी थिएँ, त्योभन्दा धेरै गाह्रो भयो’

pooja

अभिनेत्री पुजा शर्मा प्रेमकथाका फिल्ममा रुचाइएकी अभिनेत्री हुन् । उनले अभिनय गरेका प्रेमकथाका फिल्म हेर्न हलमा दर्शकको भीड नै लाग्छ । उनले अभिनय गरेका फिल्ममा चञ्चले र सहरीया चरित्रमा देखिने पुजा आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’मा पहिलोपटक एक्सन अवतारमा देखिँदैछिन् । पुजाका अनुसार ‘दान्भी’का लागि उनले द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना एक्सनको प्रशिक्षण लिइन् । प्रशिक्षणको समय र फ्लोरमा गएपछि पुजाले निकै गाह्रो अनुभव गरेकी रहिछन् ।

‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । मैले अहिलेसम्म कुनै पनि फिल्ममा एक्सन सिक्वेन्स दिएकी छैन् । सधैं प्रेमकथाको मात्र फिल्म गर्नुभन्दा एउटा फरक काम गर्दा मैले सिक्ने पनि मौका पाउँछु भन्ने लाग्यो । एक्सन कस्तो हुन्छ भन्ने केही थाहा थिएन । एक्सनवाला फिल्म त धेरै हेर्थें, तर एक्सन कसरी गर्ने भन्ने ‘दान्भी’बाट मात्र थाहा पाएँ’, पुजा भन्छिन् ।

पुजाका अनुसार उनको करियरमा सबैभन्दा बढी मेहनत उनले ‘दान्भी’मै गरेकी रहिछन् । ‘सुटिङको एक्सन सिक्वेन्समा एकैदिन ६ देखि ७ घण्टा एक्सनको काम गर्नुपथ्र्यो । एक्सन गर्दा मेरो खुट्टामा घाउ भयो । एकजना फाइटरको त टाँकै लगाउनुपर्यो । मैले फिल्मकै लागि १५ दिनसम्म फाइट नै गरें’, पुजा सम्झिन्छिन् ।

पुजा फिल्ममा आफ्नो एक्सन हेरेर दर्शकले ‘ओहो’ भन्ने दाबी गरिन् । ‘फिल्मको टिजर र ट्रेलर रिलिज भएपछि अधिकांशले ‘के पुजाले साँच्चै एक्सन गरेको हो त? भन्ने प्रश्न पनि गर्नुभयो । फिल्ममा मैले नै एक्सन दिएकी छु । । मैले आफ्नो फिल्म बनाउँदा त्यति धेरै प्रतिक्रिया आएको थिएन, जति दान्भीमा आएको छ । दर्शकले अहिलेसम्म हिरोको मात्र एक्सनलाई देखेका थिए । दान्भीको ट्रेलर र टिजर रिलिज पछि धेरैले मलाई नोटिस गरेका छन्’, उनी भन्छिन् ।

पुजा अहिलेसम्म नेपाली फिल्ममा देखिरहेको एक्सन भन्दा फरक शैलीको एक्सन ‘दान्भी’मा हेर्न पाइने दाबी गर्छिन् । ‘यो फिल्ममा वेस्टर्नदेखि हरेक किसिमको एक्सन गराइएको छ । एक्सन भन्ने बित्तिकै अधिकांशको दिमागमा उडेर फाइट खेल्ने भन्ने हुन्छ । तर यो फिल्ममा प्राक्टिकल एक्सन छ’, पुजाको दाबी छ ।

पुजा अभिनेत्री रेखा थापाको एक्सन शैलीकी फ्यान हुन् । त्यहीकारण पनि उनलाई यो फिल्ममा काम गर्न प्रेरित गरेको रहेछ । ‘फिल्ममा एक्सन भएकै कारण यो फिल्ममा जोडिएकी हुँ । फिल्ममा प्रेमकथा भइदिएको भए म अभिनय गर्दिन थिएँ’, उनी भन्छिन् ।

फिल्ममा एक्सन सिक्वेन्स भएपछि निर्माण पक्षले एक्सन सिक्वेन्समा नाम चलेका कलाकारलाई ‘गेस्ट अपेरियन्स’मा राखेर अभिनय गराउने योजना बनाएका रहेछन् । तर फिल्मका निर्देशक रुपेश तामाङले भने पुजालाई एक्सन लेडीका रुपमा प्रस्तुत गर्ने सोचाई बनाएका रहेछन् ।

‘निर्माण पक्षले अभिनेता विराज भट्टलाई गेष्ट अपेरियन्सका रुपमा राख्ने कि भन्ने सोच्नुभएको रहेछ । तर दर्शकले विराज दाईलगायत अन्य अभिनेताको एक्सन धेरै हेरिसक्नुभएको छ । त्यसकारण विराज दाई भन्दा नायिकालाई नै एक्सन अवतारमा देखाउने कि भन्ने निर्देशकसँग सल्लाह भयो’, पुजा खुलिन्, ‘फिल्ममा मेसिन गन बोक्ने दृश्यमा विराज दाई वा अरुलाई नै राख्ने कि भन्ने कुरा नलचेको पनि होइन । तर म आफैं गर्न सक्छु भन्ने हिम्मत जाग्यो ।’

टिजर, ट्रेलर र पोस्टरमा पुजाले मेसिन गन बोकेको दृश्य र तस्वीर सार्वजनिक भएपछि उनले तारिफ भन्दा पनि बढी आलोचना खेप्नुपर्यो । तर आलोचनालाई उनले सजिलै ‘फेस’ गरिन् ।

‘त्यो गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए तारिफ हुन्थ्यो होला । तर मैले बोक्दा ‘गन बोक्न पनि आएन’, ‘गन बोकेको एक्सप्रेसन भएन’ जस्ता कुरा सुनें । मैले गन बोकेको छु । म गनसँग डराउने होइन नि । मैले अरुलाई हानेको छु, म गनसँग इजी हुनु हो नि । तर मान्छेले बुझ्दा गन बोकेको एक्सप्रेसन भएन भने । त्यो सुन्दा दुःख लाग्यो’, पुजा भन्छिन् ।

भविष्यमा पनि एक्सन फिल्म गर्ने या नगर्ने भन्ने कुरा ‘दान्भी’ले निर्धारण गर्ने पुजाको बुझाई छ । ‘दान्भीले भविष्यमा मैले एक्सन फिल्म गर्न सक्छु या सक्दिनँ भन्ने देखाउँछ । दर्शकले फिल्मलाई कसरी हेर्नुहुन्छ त्यसमा भरपर्छ । मलाई दर्शकले रुचाए, म एक्सनमा गर्न सक्छु है भन्ने भयो भने म अवश्य गर्छु । मलाई एक्सन मुभीकै अफरहरु आइरहेको छ । ‘दान्भी’को प्रतिक्रिया नआइकन म अरु एक्सन फिल्मको कुरै गर्दिनँ’, पुजाले भनिन् ।

रुपेश तामाङ निर्देशित फिल्म ‘दान्भी’ पुजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु रानालगायतका कलाकारको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x