
गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशमा आधारित नेपाली फिल्म ‘बलिदान’ छायाङ्कनको लागि तयार भएको छ।
यसका निर्देशक सन्तोष सेनले यस चलचित्रको कथालाई ‘महाकथा’ भन्दै यसको लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताउँछन्। उनी महिनौँ देखि कहिले छायाङ्कन स्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागि पूर्वी नेपालको विराटनगर र इटहरी क्षेत्रमा त कहिले दक्षिण भारतमा त्यहाँको चलचित्र उद्योगका प्राविधिकहरूसँग छलफलमा डटिरहेका छन्। नेपालमा यस किसिमको चलचित्र उत्पादन ऐतिहासिक र युगान्तकारी साबित बनाउन निर्माण टिम ठुलो मेहनत र लगानी खर्चेर प्रि-प्रोडक्सन रहेको छ।
सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’का लागि दक्षिण भारतका सयौँ करोडका प्रख्यात चलचित्रहरू बनाइसकेका चर्चित द्वन्द्व निर्देशक, छायाकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याएको छ। जसमा, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिमले ‘बलिदान’मा काम गर्नेछन्।
द्वन्द्व निर्देशक सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’, चियान विक्रमको चलचित्र ‘थङ्गलम’ लगायतमा काम गरिसकेका छन्। छायाकार ऋषि गत हप्ता रिलिज भएको नेपाली फिल्म ‘बाटो: रोड टु डेथ’का छायाकार हुन्। हाल नेपालमा उनको छायाङ्कनको खुलेरै तारिफ भइरहेको छ। त्यस्तै, उनले दक्षिण भारतमा चर्चित फिल्महरू सुपरस्टार रजीनिकान्थको फिल्म ‘पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको फिल्म ‘आचार्य’को छायाङ्कन टिममा रहेर काम गरेका छन्।
यसका साथै छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले बताए। उनले भने, “हामीले बलिदानलाई उच्चस्तरीय नेपाली चलचित्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रण गरेका छौँ। यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्दैछौँ। यो एक सामान्य फिल्म मात्र नभएर नेपाली फिल्म उद्योगका लागि एक ऐतिहासिक, क्रान्तिकारी र महान् चलचित्रको ढोका खोल्ने कोशेढुङ्गाका रूपमा साबित गराउनेछौँ।’
बलिदानको छायाङ्कनको लागि इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ। साथै, विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम लगभग अन्तिम चरणमा रहेको सह निर्माता प्रेम पुरीले बताए। यसको करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ।
‘बलिदान’को प्रमुख भूमिकामा नेपाली फिल्मका एक्सन अभिनेता बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दैछन्। एक ‘प्याकेज हिरो’को सम्भावना बोकेका भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए। यस फिल्ममा अभिनेता त्रय सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि प्रमुख अभिनय रहनेछ।
आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।
