Todays Date: २०८३ जेष्ठ १३

नेपालका सुरेन्द्र राई र सुसन तामाङले रचे विश्व कीर्तिमान, राखे ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम

Record

नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन्। नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन।

सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात् नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए। काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ। सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन। यति ठुलो हाइटमा नृत्य गरेर सुसन र सुरेन्द्रले इतिहासमा आफ्नो छाप छाड्ने महत्वाकांक्षी प्रयास गरेका हुन।

सुसन र सुरेन्द्रले प्रस्तुत गरेको गीतको बोल थियो,’ मन मगन’ जुन साढे दुई मिनेट लामो छ। सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरू पनि उनीहरूसँगै काला पत्थर पुगेका थिए। उनीहरूलाई फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए।

उनीहरूको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ले अनुमोदन गरेको छ। भने रेकर्ड राख्नका लागि प्रयास गरेको सबै प्रमाणहरूको समीक्षा गरेर सुरेन्द्र र सुसनलाई गिनिजले आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड थमाएको हो।

रेकर्ड राख्न सफल भएपछि खुसी हुँदै सुरेन्द्र र सुसन सुनाउँछन्,’हामीले हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवर्द्धनकालागि यो कीर्तिमानी प्रयास गरेका हौँ ।’

खराब मौसमको बाबजुद पनि यो जोडीले आधिकारिक रूपमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको हो। यो जोडीले राखेको कीर्तिमानी रेकर्डको विशेष साक्षीका रूपमा सानू शेर्पा थिए। सानुले आठ हजार मिटरको चौध वटा अग्लो हिमाल दुई पटक सबैभन्दा छिटो आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका थिए।

सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा यो कीर्तिमानी प्रयास गरेका हुन् भने गिनिजका तर्फबाट नेपालका आधिकारिक प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x