
नेपाली फिल्मको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गर्न सफल फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’लाई सोमबारदेखि हलबाट उतार्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।
आज सार्वजनिक विज्ञप्तीमा निर्माण कम्पनी सेभेन सिजले सोमबारदेखि हलबाट फिल्म उतार्ने घोषणा गर्दै प्रदर्शकसँग विद्रोह गरेको उल्लेख गरेको छ ।
विशेषगरि, फिल्म रिलिजको सुरुवाती दिन जस्तै अवस्थामा फेरि फिल्मको शोजको अवस्था पुर्याइएको भन्दै सेभेन सिजले हलबाट फिल्म उतार्ने घोषणा गरेको हो ।
विज्ञप्तीमा भनिएको छ–‘पुर्ण बहादुरको सारङ्गीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न वाध्य भएका छौ । विशेषगरि, पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो फिल्मलाई केही फिल्म घरहरूबाट गरिँदै आएको नजरअन्दाज व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको हो ।’
यो फिल्मको निर्माणपक्षले चाँडै नै नयाँ फिल्ममार्फत हलमा भेट्ने वाचा समेत गरेको छ । नेपाली बक्स अफिसमा करिब ५० करोडको ग्रस कलेक्शन गरेको यो फिल्मलाई हिन्दी फिल्म ‘पुष्पा २’ आएपछि सीमित शोजमा खुम्चाइएको थियो । यही कारणले, निर्माताले प्रदर्शकहरुसँग विद्रोह गर्नुपर्ने अवस्था आएको हो ।