
सात वर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किन लागेका भेट्रान निर्देशक तुलसी घिमिरे फिल्म ‘पहाड’को तयारीमा जुटेका छन्। आगामी माघ महिनाबाट छायांकन सुरु हुने फिल्मले बलियो कलाकारहरूको टिम तयार पारेको छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउतलगायतका कलाकारले अभिनय गर्ने निश्चित भइसकेको छ।
हालै, फिल्मका लागि दुई नयाँ कलाकार थपिएका छन्। अरुण क्षेत्री र पञ्चमी घिमिरे ‘पहाड’मा देखिने भएका छन्। ‘महापुरुष’ फिल्मबाट डेब्यु गरेका अरुणले ‘प्रेमा’ र ‘ज्याकी: आइ एम ट्वान्टिवान’जस्ता फिल्ममा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन्। पञ्चमी घिमिरे भने निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी हुन्। उनी यसै फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गर्न लागेकी हुन्।
पञ्चमीले यसअघि ‘दर्पण छायाँ २’मा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन्। भारतको चर्चित टेलिसिरियल निर्माण कम्पनी बालाजी टेलिफिल्म्समा एसोसिएट क्रियटिभ हेडको रूपमा पनि काम गरिसकेकी पञ्चमीले सात वर्षअघि एक अन्तर्वार्तामा आफूलाई अभिनयभन्दा फिल्म मेकिङमा रुचि रहेको बताएकी थिइन्। तर, अब उनले अभिनयमा करिअर बनाउन खोजेको देखिन्छ।
‘पहाड’ फिल्मको निर्माणमा तुलसी घिमिरेको परिवारको विशेष संलग्नता रहेको छ। कान्छी छोरी पञ्चमी अभिनेत्री बनेकी छिन् भने जेठी छोरी भावना फिल्मको प्रोडक्सन डिजाइनरको जिम्मेवारीमा रहेकी छिन्। त्यस्तै, निर्देशककी श्रीमती भारती घिमिरेले फिल्मको एउटा गीतमा स्वर दिएकी छिन्।
फिल्म ‘पहाड’ले बढ्दो बसाइँसराइका कारण रित्तिँदै गएको पहाडी भूगोलको कथा प्रस्तुत गर्ने बताइएको छ। दर्शकहरूले यस फिल्मबाट गहिरो सामाजिक सन्देश र उत्कृष्ट कलाकारहरूको प्रदर्शनको अपेक्षा राखेका छन्।