
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता विराज भट्टले महँगो गाडी खरिद गरेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। शुक्रबार चाबहिलस्थित टोयोटाको सोरुमबाट उनले ३ करोड ३२ लाख रुपैयाँ मूल्यको ल्याण्ड क्रूजर २५० खरिद गरेका हुन्।
नेपाली कलाकारहरूमा ल्याण्ड क्रूजर खरिद गर्ने विराज नै पहिलो कलाकार हुन्। गाडी खरिद गरेपछि सोरुममै केक काट्दै उनले उत्सव मनाएका थिए। उक्त गाडी उनले आफ्ना छोरा समीर भट्टका लागि उपहारस्वरुप किनेको बुझिएको छ।
छायांकन सेटमा उपहार दिने तयारी
समीर भट्ट यतिबेला पूर्वमा फिल्म ‘बलिदान’को छायांकनमा व्यस्त छन्। त्यसैले गाडी खरिदको क्रममा उनी उपस्थित हुन सकेनन्। विराजले छायांकन सेटमै पुगेर गाडी छोरालाई उपहार दिने योजना बनाएको स्रोतले जनाएको छ।
विराजको यस कदमलाई हालै मात्र रिलिज भएको फिल्म ‘१२ गाउँ’को अपार सफलतासँग जोडेर हेरिएको छ। यो फिल्मले कम्तीमा १० करोड नाफा कमाएको बताइन्छ। समीरको लोकप्रियताले फिल्मलाई सफल बनाउन ठूलो भूमिका खेलेको धेरैको विश्वास छ। त्यसैले पनि विराजले छोराका लागि यो महँगो गाडी किनेका हुन्।
सिक्वेल निर्माणको तयारी
विराजले ‘१२ गाउँ’कै सिक्वेल निर्माण गर्ने तयारी गरिरहेका छन्। चलचित्र विकास बोर्डबाट सिक्वेल निर्माणका लागि इजाजत पत्र लिइसकेको र फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ। सिक्वेलमा विराज भट्ट, समीर भट्ट, र सनिशा भट्टराईको मुख्य भूमिका रहनेछ। यो फिल्मको निर्देशन पनि विराज आफैंले गर्नेछन्।
विराजको गाडी खरिद र फिल्म निर्माणको यो क्रमले नेपाली फिल्म क्षेत्रमा नयाँ चर्चा थपेको छ।